झापाको सैनिक युथ क्लब मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको विजेता बनेको छ।
झापाले आज धरानमा सम्पन्न फाइनलमा बेलबारी एफसी, मोरङलाई २—१ ले हराउँदै उपाधी हात पारेको हो। सैनिक युथ क्लब झापाका रेजिन माझीले खेल सुरु भएको १ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए।
पहिलो हाफमा १—० ले पछि परेको बेलबारी एफसी मोरङ्गका लागि खेलको ५१ औँ मिनेटमा सौरभ कार्कीले गोल गरेर बराबरीमा ल्याएका थिए।
तर, झापाली कप्तान विकेश लिम्बूले खेलको ८७ औँ मिनेटमा गोल गरेर १ नम्बर प्रदेश लिग च्याम्पियन बनाउन सफल भए। बिजेता सैनिक युथले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता बेलबारीले ३ लाखमा चित्त बुझायो।
झापाले प्रदेश १ को प्रतिनिधित्व गर्दै अब राष्ट्रिय लिगमा सहभागिता जनाउनेछ। विजयी खेलाडीहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कृत गरे।
उत्कृष्ट गोलकिपर झापाका मनोज प्रधान घोषित भए। बेस्ट डिफेन्समा झापाकै विमानप्रसाद राई घोषित हुँदा धरान फुटबल क्लब सुनसरीका उमेश राई बेस्ट मिडफिल्ड घोषित हुँदै नगद पुरस्कार पाउन सफल भए।
प्रतियोगिताको बेस्ट फरवार्ड झापाका कप्तान विकेश लिम्बू घोषित भए। झापाकै प्रशिक्षक प्रवेश कटुवाल बेस्ट कोच घोषित भए। उनीहरुले जनही २५/२५ हजारसहित ट्रफी पाए।