सांसदहरुले खेल जीवनपछि खेलाडीहरुलाई पेन्सन पाउने व्यवस्था गर्न माग गरेका छन्। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले उमेर नै खेलमा समर्पण गरी राष्ट्रलाई योगदान गर्ने खेलाडीलाई पेन्सनको व्यवस्था गर्न माग गरे।
सांसद बिमला बिकले खेलाडी कल्याण कोषको स्थापना गरी खेलाडीले खेलबाट विदा लिने अवस्थामा पेन्सन दिने व्यवस्था मिलाउनुपर्ने धारणा राखिन्। उनले विधेयकमा खेलाडी प्रवद्र्धन कोष बनाउने विषय थप गर्न सुझाव दिइन्।
खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तीलाई बन्द गर्नुपर्ने र नियुक्ती पछि पनि राष्ट्रिय खेलकुल परिषद सदस्य सचिव राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिनुपर्ने धारणा राखे।
विधेयक संसोधनकर्ता दिव्यमणि राजभण्डारीले सदस्य सचिव राजनीतिक गतिविधिमा संलग्न हुँदा खेलकुद क्षेत्रमा राजनीतिक भेदभावको अवस्था सिर्जना हुने भएकाले राजनीतिमा संलग्न हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखे।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलक्षेत्रका समस्या तथा चुनौती सम्बोधन र दायित्वलाई केन्द्र भागमा राखेर विधेयकलाई पुर्णता दिने तर्फ प्राप्त सुझावलाई मन्त्रालयले सधै स्वागत गर्ने बताए।
राष्ट्रियसभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझाव सहित प्रतिनिधिसभामा पठाएको हो। समितिले शुक्रबार विधेयकमाथि संसोधन दर्ता गराएका सांसदहरुसँग संसोधन प्रस्ताव बारे छलफल गरेको हो।