क्रिस्टियानो रोनाल्डोले आफ्ना प्रतिस्पर्धी लियोनेल मेसीसँग अहिलेसम्म डिनर नखाएको तर भविष्यमा कुनै दिन त्यस्तो अवसर जुर्ने आशा व्यक्त गरेका छन्।
बिहीबार मोनाकोमा युईएफएको एक कार्यक्रममा मेसी र रोनाल्डो सँगै बसेका थिए। पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा रोनाल्डोले यस्तो बताएका हुन्।
मेसी र रोनाल्डो दुबै युईएफएको उत्कृष्ट खेलाडीमा मनोनयन भएका थिए। यस वर्षको उपाधि भने लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइकले पाएका छन्।
रोनाल्डो र मेसीको सधैँ कट्टर प्रतिस्पर्धा छ। रोनाल्डोले करियरको ९ वर्ष रियल म्याड्रिडबाट बार्सिलोनाका मेसीसँग प्रतिस्पर्धा गर्दै बिताएका छन्। स्पेनिस लिगलाई छाडेर उनी अहिले इटालियन लिग खेल्छन्।
स्पेनिस लिगहरूमा धेरै समय बिताएको र स्पेनको याद आउने गरेकोसमेत रोनाल्डोले बताएका छन्। ‘मेसी कट्टर प्रतिस्पर्धी भएकोले मलाई उसले र मैले उसलाई फुटबलमा राम्रो गर्न उकास्ने गरेका छौं,’ रोनाल्डोले भने।