नेपाल खेलकुदर पत्रकार मञ्च झापाले तेस्रो झापा स्पोर्टस् अवार्डको मनोनयनमा पर्न सफल प्रतिभाको नाम सार्वजनिक गरेको छ। तेस्रो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीन–तीन जना र दुई विधामा छनौट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एक–एक जनालाई सिधै छनौट गरेको छ।
छनौटमा परेकालाई असोज १३ गते सोमबार विर्तामोडमा आयोजित समारोहबीच अवार्ड प्रदान गरिने शुक्रबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
झापा स्पोर्ट अवार्ड २०७५ तथा प्रतिभा छनौट समिति संयोजक बुद्ध तामाङले छनौटमा परेका खेलाडीको नाम सार्वजनिक गरेका थिए। वर्ष खेलाडी पुरुषतर्फ उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन) र नवयुग श्रेष्ठ (फुटबलर) रहेका छन्।
वर्ष खेलाडी महिलातर्फ एस्तर राई (कराँते), अञ्जिला तुम्वाम्फो सुब्बा (फुटबल) र विनिता बुढाथोकी (भलिबल) रहेका छन्।
उनीहरूलाई पुरुष खेलाडीका लागि एक–एक थान मोटरसाइकल र महिला खेलाडीका लागि एक–एक थान स्कुटर प्रदान गरिने भएको छ। वर्ष उत्कृष्ट युवा खेलाडीका रुपमा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट) र अमिता गिरी (ब्याडमिन्टन) रहेका छन्।
त्यस्तै, उत्कृष्ट प्रशिक्षकका रुपमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ) र योगेश चाम्लिङ रहेका छन्। युवा खेलाडी र उत्कृष्ट प्रशिक्षणलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने भएको छ।
पिपुल्स च्वाइट अन्तर्गत एक खेलाडीलाई २५ हजार र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित एक जनालाई ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका अध्यक्ष हिमालचन्द्र खरेलले जानकारी दिए। अवार्डलाई स्थापनाकालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्व फुटबलर स्व. आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन्।
त्यस्तै, सहारा नेपाल साकोसले दुई लाख रुपैयाँ प्रदान गर्दै आएको र झापा-११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्ट अवार्डमा आमा स्व. राजकुमारी गुरुङ, बुबा स्व. बलबहादुर गुरुङ र भाउजू स्व. तिलमाया गुरुङको स्मृतिमा एक थान स्कुटर र मोटरसाइकल प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका प्रशिक्षकलाई सहभागी गराइएको नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष रमेश समदर्शीले जानकारी दिए।