एपिएफ क्लब काठमाडौंले मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
आइतबार सम्पन्न खेलमा झापा–११ लाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
आठ वटा टिम सहाभागी भएको प्रतियोगितामा शनिबार आयोजक डाँगीहाट युथ क्लबलाई घरेलु मैदानमा ४–३ गोल अन्तरले निराश बनाउँदै धरान फुटबल क्लब सेमिफाइनल पुुगेको थियो। आइतबारको दोस्रो खेलमा एपिएफका लागि रोहित थापा र हरि कार्कीले समान एक–एक गोल गरे।
प्रतियोगिताबाट बाहिरिए पनि झापा मैदानमा आक्रामक थियो। तर, गोल गर्न नसक्दा झापा निरास हुन पुगेको थियो। २६ औं मिनेटमा रोहित थापाको गोलबाट एपिएफले गोलको खाता खोलेको थियो। थापाले कर्नरबाट गरेको प्रहारलाई गोलरक्षक राउतले बचाउन नसक्दा झापा दबाबमा पर्यो।
७० औं मिनेटमा हरि कार्कीले अर्को गोल थपेर एपिएफको जित निश्चित गरे। खेलको म्यान अफ दि म्याद एपिएफका गोल रक्षक राजु नगरकोटी घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। सोमबार मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं र गोर्खा ब्वाइज क्लब बुटवलबीच भिडन्त हुनेछ।