रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी तिलोत्तमा प्रिमियर लिगको सोमबारको खेलमा मणिग्राम किंग्स र रुपन्देही पल्टन्सलाई सफलता मिलेको छ।
प्रतियोगिताको तेस्रो दिन सोमबार सम्पन्न दोस्रो खेलमा मणिग्राम किंग्सले एक्सपर्ट रोयल शंकरनगरलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। रोयल शंकरनगरका ब्याट्सम्यानहरु उदियमान खेलाडी अनिल खरेलसामु निरिह देखिए। मणिग्रामका अनिल खरेलले सर्बाधिक ४ विकेट लिए भने आफ्नो ४ ओभर बलिङमा ११ रन मात्र खर्चिएका थिए।
टस जितेर ब्याटिङ्ग गरेको मणिग्रामले निर्धारित ओभरमा १ सय ३६ रन बनाएको थियो । सो क्रममा कृष्ण भुषालले ३२ बलको सामना गर्दै २९ रन बनाएका थिए।
उता १ सय ३७ रनको विजय लक्ष्यका साथ ब्याटिङमा आएको शंकरनगरलाई सस्तैमा समेट्न अनिल खरेललाई साथ दिँदै कप्तान कृष्ण कार्की, दुर्गेस गुप्ता र अमर सिंह राउटेलाले समान २÷२ विकेट लिए। शंकरनगर १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ६९ रनमा समेटिएपछि मणिग्राम किंग्सको सफलता सहज बनेको हो।
प्रतियोगितामा मणिग्रामका अनिल खरेल म्यान अफ द म्याच घोषित भए भने मणिग्रामकै दुर्गेस गुप्ताले मष्ट भ्यालुएवल प्लेयरको उपाधी जिते। यसअघि सोमबार भएको पहिलो खेलमा रुपन्देही पल्टन्सले लुम्बिनी साक्यानलाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा तिनाउ टाइटन्स् र लुम्बिनी शाक्यान् साथै दोस्रो खेलमा पाल्पाली लिजेन्टस् र मणिग्राम किंगसबिच खेल हुने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।
प्रदेश स्तरको सबैभन्दा ठूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडीहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन्। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ।