तिनाउ टाइटन्सलाई १३ रनले पछि पार्दै बुटवल युनाइटेडले तिलोत्तमा प्रिमियर लिगमा सेमिफाइनल यात्राको सम्भावना बलियो बनाएको छ।सेमिफाइनल प्रवेशका लागि बुटवलले सोमबार रुपन्देही पल्टन्ससँगको खेल जित्नुपर्ने हुन्छ।
आइतबारको खेलमा टस जितेर पहिले व्याटिङ गरेको बुटवल युनाइटेडले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। बुटवलका लागि मृनल गुरुङले ५२ बलमा सर्वाधिक ४५ रन बनाए।
१ सय ४२ रनको विजयी लक्ष्य पाएको तिनाउले जवाफी व्याटिङ्ग गर्दै निर्धारित ओभरमा सबै बिकेट गुमाएर १ सय २८ रनमा समेटियो। तिनाउका लागि सन्दिप जोराले २९ रन जोडे पनि अन्य ब्याटसम्यानले सम्मानजनक रन बनाउन नसक्दा हार ब्यहोर्नुपर्यो।
तिनाउलाई सस्तैमा समेट्नका लागि बुटवलका मैनुद्धिन खान र राहुल प्रजापतिले समान ३/३ विकेट लिए। आफ्नो ४ ओभरको ब्याटिङ्गमा मैनुद्धिनले २३ रन खर्चिए भने राहुलले मात्र २० रन खर्चिएका थिए। अर्का बलर सुसान भारीले ४ ओभरमा २२ रन खर्चिदै २ विकेट लिए। टिमको जितका लागि बुटवलका मृनल गुरुङ्गले ५२ बलमा सर्वाधिक ४५ रनको योगदान गरे।
प्रतियोगितामा बुटवलका मृनल गुरुङ्ग मष्ट भ्यालुएवल खेलाडी बने भने बुटवलकै मैनुद्धिन खानले म्यानअफ द म्याचको उपाधी जित्न सफल भए।
यो जितसँगै बुटवल युनाइटेडले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो। पोल ए मा रहेको ज्ञानोदय गोल्डस्ले यसअघि नै सेमिफाईनलमा स्थान सुरक्षित बनाईसकेको छ।
पोल बीबाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्ट्स यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन्। यस्तै सन्दिप सुनार र राजवीर सिंहको उत्कृट खेलसँगै एक्स्पर्ट रोयल शंकरनगर आइतबारको दोस्रो खेलमा विजयी भएको छ। एक्स्पर्टले सुपर ११ भैरहवालाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो।
पहिला ब्याटिङ्ग गरेको शंकरनगरले निर्धारित २० आोभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ६० रनको योगफल तयार पारेको थियो। १ सय ६१ रनको बिजयी लक्ष्य सहित ब्याटिङ्ग थालेको भैरहवालाई शंकरनगरले १७ दशमलव ३ ओभरमा ९७ रनमा समेटेको थियो।
शंकरनगरको जितका लागि सन्दिप सुनारले ३४ बलमा ४४ रनको योगदान गरे भने आफ्नो ४ ओभर बलिङ्गमा ३३ रन खर्चेर २ विकेट लिएका थिए। त्यस्तै राजविर सिंहले ३९ बलमा ४८ रनको योगदान गरे।
त्यस्तै टिमको जितका लागि शंकरनगरका रमेश कुर्मीले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा शंकरनगरका राजविर सिंह मष्ट भ्यालुएवल खेलाडी बने भने म्यानअफ द म्याचको उपाधी शंकरनगरकै सन्दिप सुनारले जिते।