चन्द्रागिरिमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिसले जावलाखेललाई हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ।
चन्द्रागिरीस्थित नैकाप खेलमैदानमा भएको आजको खेलमा विभागीय नेपाल पुलिस क्लबले जावलाखेलमाथि २–१ को अन्तरले हराउँदै अन्तिमा आठमा पुग्न सफल भएको हो ।
पुलिसको जितमा भोला सिलवाल र प्रवेश दनुवारले गोल गरे। जावलाखेलका विदेशी खेलाडी एडमा डम्बियाले गरेको गोल सान्त्वना बन्यो। नेपाल पुलिस क्लवले खेलको चौथो मिनेटमा नै एडमा डम्बियाको गोलबाट पछि परेको थियो।
पुलिस सम्हालिन नपाउँदा एडमा डम्बियाले हेडमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। पहिलो गोल गरेसँगै खेलमा हौसिएको जावलाखेलले पुलिसलाई लगातार दवावमा राखेपनि थप गोल गर्न सकेन। पुलिसले पहिलो हाफमा उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन । तर, दोस्रो हाफमा पुलिसले उच्च प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो।
५३औं मिनेटमा सुमन लामाको उत्कृष्ट मुभमा भोला सिलवालले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। सुमनले मैदानको मध्यभागबाट चार खेलाडीलाई छक्याउदै दिएको पासमा भोला चुकेनन्।
७४औं मिनेटमा प्रवेश दनुवारले वान भर्सेस वानको अवस्थामा गोल गर्दै पुलिसलाई २–१ को पुनरागमन जित दिलाए । दोस्रो हाफमा भने जावलाखेलले उल्लेख्य प्रदर्शन गर्न नसक्दा शुरुवाती अग्रता लिए पनि पराजित हुन पुग्यो। पुलिसका निर कुमार राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ५ हजार रुपैयाँ हात पारे।
अब पुलिसले क्वाटरफाइनलमा गत वर्षको विजेता च्यासल युथ क्लबसँग ७ मंसिरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा मंगलबार संकटा र विभागीय नेपाल एपिएफ क्लबबीच दिउँसो २ः३० बजेपछि खेल हुने आयोजक कमिटिका संयोजक पुर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले बताए ।
तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन्।
समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् । १० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ।
विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ। सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैयाँ छ। पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो।