१३औं दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा दशरथ रंगशालाको पुनर्निर्माणले पनि तीव्रता पाएको छ।
आगामी मंसिर १५ गते सागको उद्घाटन समारोह हुने दशरथ रंगशालाको भिआइपी प्यारापिटमा चीनमा तयार भएर यहाँ फिट गरिने छाना हाल्ने काम सुरु भएको छ।
भिआइपी प्यारापिटको मेटल एन्ड फ्रेबिकेसनको काममा खटिएका युवराज अधिकारीका अनुसार अहिले प्यारापिटको 'रुफिङ' को काम भइसकेको छ।
उनका अनुसार आज रातिसम्म प्यारापिटमा बिम हाल्ने र मंसिर १० गते भित्र प्याराफिटमा कपडाको छाना हाल्ने काम सकिनेछ।
चीनबाट ल्याइएको कपडाको छानो केहि ठूलो भएकाले त्यसलाई काटेर मिलाइएको छ। छानाको १४ वटा पाता मध्ये अहिले एउटा हालिएको छ। एउटा पाता राख्न २ घन्टा समय लाग्नेछ।
पाँच दिनअघि एयर कार्गोमार्फत नेपाल आइपुगेको प्यारापिट ठूलो हुँदा सुरुमा अन्योल बढेको थियो। तर काटेर मिलाउन सकिने भएकाले प्यारापिट हाल्न कुनै समस्या नहुने अधिकारीले बताए।
छानो हालेपछि सिट र बत्ती जडान गरिनेछ। प्यारापिट छिटो तयार पार्नका लागि अहिले १५० भन्दा बढी कामदार दिनरात खटिएका छन्।
दशरथ रंगशालाको साधारण प्यारापिटको काम भने सकिएको छ। यस्तै भिआइपी प्याराफिट बाहेका स्थानमा साउन्ड सिस्टम हालिएको छ भने स्कोरबोर्ड र फ्लड लाइट पनि मर्मत भइसकेको छ। मैदान पनि तयारी अवस्थामा छ। रंगशालामा यसअघि नै ट्र्याक तयार गरिएको थियो।
रंगशालामा सागको उद्घाटन र समापन समारोहबाहेक पुरुष फुटबल र एथ्लेटिक्सका प्रतिस्पर्धा हुने तय छ।