राजधानीको चन्द्रागिरिमा जारी चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सरस्वती युथ क्लबलाईलाई हराउँदै विभागीय नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
चन्द्रागिरिको नैकापस्थित खेल मैदानमा भएको प्रतियोगितामा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रविन स्याङ्तानले खेलको १५औं मिनेट गरेको गोल एपिएफलाई निर्णायक बन्यो। एपिएफका डिफेन्डर रमेश दंगाल खेलको म्यान अफ दि म्याच घोषित भए। उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको अवार्ड पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकी र आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकीले प्रदान गरे।
यससँगै चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ। पहिलो सेमिफाइनलमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र विभागीय नेपाल पुलिसका क्लबबीच प्रतिस्पर्धा हुनेछ। बुधबार एपिएफले सेमिफाइनलमा ललितपुरको रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ। सोमबार कुनै खेल हुने छैन। खेलहरु नैकाप फुटबल मैदानमा दिउँसो २ बजेपछि हुनेछ।