युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्व गरेर पदक प्राप्त नगरेका खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनु उपयुक्त नहुने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडीको हैसियत दिनु ठीक हुने बताए।
‘भर्खरै साग खेलकुदमा झण्डै ६ सय खेलाडी सहभागी भए। अब ६ सय खेलाडीलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिऔं भने त्यो कति उपयुक्त होला?,’ उनले छलफलमा कुरा राखे।
उनले अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुअघि स्तरको मापन गरिनुपर्ने जनाए।
कतिपय अवस्थामा स्तर नपुगेका खेलाडी पनि देशको छनोटमा ‘ए ग्रेड’ मा परेको भन्दै मन्त्री विश्वकर्माले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डमा हैसियत नपुगेका खेलाडीलाई पनि देशको प्रतिनिधित्व गर्ने मौका पाएकै हिसाबले अन्तर्राष्ट्रिय खेलाडीको हैसियत दिँदा अवमूल्यन हुन्छ।’