१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ।
बुधबार महानगरपालिकाले स्थापनाको १०० औं वर्षको अवसर पारेर सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको हो।
यस्तै, रजत विजेतालाई ४० हजार र कास्य विजेतालाई ३० हजार प्रदान गरिएको छ।
दुई स्वर्ण जितेका आयशा शाक्यले १ लाख पाएकी छिन्। दुई रजत र कास्य जित्ने खेलाडीलाई पनि सोही अनुसार नगद प्रदान गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चिरिबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरूलाई एसियन र ओलम्पिकबाट पदक जितेर आए अझ ठूलो रकमले सम्मान गर्ने बताए।
सम्मान कार्यक्रममा महानगरभित्रको बासिन्दा रहेका २१ खेलाडी सम्मानित भएका हुन्। यसअघि महानगरले तयारीका लागि ए डिभिजन क्लबलाई ४ लाख, बि डिभिजन क्लबलाई ३ लाख र सि डिभिजन क्लबलाई २ लाख दिएको थियो।