नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कास्य जित्ने टिमलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएकोमा ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष दीपक श्रेष्ठले मंगलबार विज्ञप्ति निकाल्दै टिम खेलमा रजत र कांस्य पदक जित्नेको पुरस्कार तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गरेका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए।
यस्तै टिम इभेन्टमा स्वर्ण जित्नेलाई जनही ५ लाख दिने प्रधानमन्त्रीको घोषणा थियो। तर टिममा रजत र कास्य जितेका लागि पुरस्कार घोषणा भएको थिएन।
'सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कास्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ,'नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना छन्। त्यसैले यसपाली वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं।'
प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार नियमावली भन्दा बढी भएकाले सो पुरस्कार तत्काल दिन सम्भव देखिएको छैन। पुरस्कार दिनका लागि खेलकुद मन्त्रालयले नियमावली संशोधन प्रक्रिया बल्ल सुरु गरेको छ।
१३औं सागमा नेपालले इतिहासमै सबभन्दा बढि ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक सहित कुल २ सय ६ पदक जितेको थियो।