इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन्।
२१ वर्षिया किमियाले सामाजिक संजालमा पोस्ट गर्दै आफू इरानको पाखण्ड, झुठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको उल्लेख गरेकी छन्।
पोस्टमा उनले आफू पनि इरानमा सताइएका लाखौं इरानी महिलामध्ये एक भएको लेखेकी छन्। हाल उनी कहाँ छिन भनेर उनले सो पोस्टमा कुनै जानकारी दिएकी छैनन तर इरानी मिडियाका अनुसार यतीबेला प्रशिक्षणका क्रममा उनी नेदरल्याण्डमा हुन सक्ने बताएका छन्।
उनले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा तेक्वान्दोबाट कांस्य पदक जित्दै इरानमा इतिहास बनाएकी थिइन्।
उनले पोस्टमा इरानी अधिकारीहरू उनको सफलतालाई 'प्रोपागान्डा'का लागि प्रयोग गरेको आरोप लगाएकी छन्।
इरानमा सरकार विरोध प्रदर्शन शुरु भएको बेला किमियाको यो फैसला आएको छ।
बुधबार युक्रेनी जहाजलाई इरानले भूलवशः मिसाइल आक्रमणबाट खसालेको थियो। दुई दिनसम्म इरानले यसलाई अस्विकार गरेर लुकाएको विरोधमा इरानमा शनिबारबाट प्रदर्शन शुरु भएको छ।
यसका अलावा इरान र अमेरिकाको सम्बन्ध पनि हाल चरम संकटपूर्ण अवस्थामा छ।
सरकारी अधिकारीबाट अपमान
किमियाले आफ्नो पोस्टमा 'म इरानमा सताइएका लाखौं महिलामध्येकी एक हूँ। म वर्षौदेखि देशका लागि खेलिरहेको छु। अधिकारीहरूले जे भने पनि मान्दै आइरहे, हर आदेशको पालना गरें तर उनीहरूका लागि हामी कुनै महत्व राख्दैनौं। हामी केवल उनीहरुका लागि प्रयोग हुने हतियार मात्र हौं', लेखेकी छन्।
यसगरी किमिया अलिजादेहले सरकाले उनको सफलतालाई राजनैतिक रुपमा प्रयोग गरिदैं आइयो भने अर्कोतीर अधिकारीहरूले उनको अपमान गर्दै आइरहेको लेखेकी छन्।
उनको पोस्टमा इरानी अधिकारीहरुले 'कुनै महिलाले खुट्टा तन्काउनु पुण्यको काम होइन' भनेर आफ्नो अपमान गर्ने गरेको बताएकी छन्।
त्यसैगरी उनले आफूलाई युरोपबाट आकर्षक प्रस्ताव मिलेको भन्ने आरोपलाई अस्वीकार गरेकी छन्।
कामियाले सो पोस्टमा आफ्ना आगामी योजनाहरुका बारेमा केही खुलाएखी छैनन्।
उनले आफू सँधै इरानको छोरी बनेर बस्ने बताएकी छन्।