नेपालमा हुने अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटिएफ) यु– १८ प्रतियोगितामा छनोट खेल्न आएका एक अस्ट्रेलियन खेलाडीको मृत्यु भएको छ।
अस्ट्रेलियाका १५ वर्षीय केन्ट यामाजाकी बुधबार दिउँसो सातदोबाटोस्थित टेनिस कोर्टमा अभ्यास गर्ने क्रममा बेहोस भएका थिए। बेहोस भएपछि बी एन्ड बी अस्पतालमा पुर्याइएका उनलाई चिकित्सकले मृतक घोषित गरेका थिए।
यामाजाकी आगामी शनिबार र आइतबार हुने छनोटको तयारीका लागि दिउँसो २ बजे अभ्यास गर्न सातदोबाटो पुगेका थिए। ‘अन्तिम ड्रमा उनको नाम थिएन,’ एक टेनिस पदाधिकारीले भने, ‘उनी छनोट खेलेर प्रतियोगितामा भाग लिने तयारीमा थिए।’
सातदोबाटोमा आफ्ना पितासँग गएका उनले सुरुमा एक्लै अभ्यास गरेका थिए। त्यसपछि नेपालकी नम्बर एक खेलाडी प्रेरणा कोइरालासँग उनले अभ्यास गरेका थिए।
प्रेरणाका प्रशिक्षकसँग यामाजाकीका बुबाले कुराकानी गरेपछि अभ्यासका लागि प्रेरणा तयार भएकी थिइन्।
२० मिनेट अभ्यास गरेपछि यामाजाकी एक्कासी मैदानमा ढलेका थिए। उनी मैदानमा ढलेपछि प्रेरणाले उनका बुबा र प्रशिक्षकलाई खबर गरेकी थिइन्।
त्यहाँ उपस्थितहरूले तत्काल कारमा राखेर अस्पताल लैजान आग्रह गरेका थिए। तर यामाजाकीका बुबाले एम्बुलेन्समा लैजाने बताएपछि एम्बुलेन्स करिब १५ मिनेट ढिला आइपुगेको थियो।
अस्पतालमा डाक्टरले उनलाई बचाउन एक घन्टा प्रयास गरे पनि असफल भएका थिए। मृत्युको कारण भने अस्पतालले खुलाएको छैन।
छोराको टेनिस खेल्ने क्रममा निधन भएपछि उनकी आमा बिहीबार काठमाडौं आइपुगेकी छिन्। घटनामा यामाजाकीका आमा बुबालाई दूतावासले सहयोग गरिरहेको छ।
अस्ट्रेलिया पर्थ निवासी उनी जुनियार टेनिसका राम्रा खेलाडी थिए। उनले गत महिना अस्ट्रेलिया स्कुल टेनिस च्यालेन्ज जितेका थिए।