राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरेको बताएका छन्।
खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशका ११ जिल्लामा एक/एक खेल आयोजना गर्ने र अन्य खेल प्रदेश राजधानी पोखरामा गर्ने गरी पूर्वाधार निर्माणको काम अगाडि बढेको बताए।
‘मनाङ बाहेक सबै जिल्ला घुमेँ, सबैले एउटा खेल आयोजना गर्न दिनोस् भन्ने आग्रह गर्नुभएको छ,’ उनले भने, ‘जिल्लालाई एउटा न एउटा खेलको जिम्मेवारी दिने छौं।’
राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ फागुन २०–२७ सम्म आयोजना हुँदैछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालामा सुटिङ रेन्ज र स्वीमिङ पुल निर्माणका लागि टेण्डर प्रक्रियाको तयारी गरिएको उनले जानकारी दिए।
‘माटो परीक्षणको रिपोर्ट आइसकेको छ, हेभी स्ट्रक्चर नबनाउन र नयाँ बनाउन सुझाव दिएका छौं’ उनले भने, ‘बैशाखभित्रमा टेण्डर प्रक्रिया टुग्याउने छौं।’
स्वीमिङको लागि पोखरा रंगशालाभित्र जग्गा छुट्टाइएको छ। छुट्टाइएको जग्गामा पौडी पोखरी निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले परिषदसँग ४० करोडको बजेटको प्रस्ताव गरेको छ।
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको स्वीमिङ पुल (पौडी पोखरी) निर्माण गर्न टेण्डर प्रक्रियामा लैजादै छौं’ उनले भने। हिटिङ सहितको स्वीमिङ पुल बनाउने गरी टेण्डर आह्वान गर्न लागेको उनले बताए।
सदस्य सचिव सिलवालले पोखरामा रहेका सरकारी विद्यालयको जग्गालाई खेलकुदको लागि उपयोग गर्ने योजना बनाएको समेत बताए। पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदान निर्माणको काम अघि बढाउन लागेको भन्दै उनले पोखराकै पशुपति घाटमा अर्को क्रिकेट मैदानको लागि जग्गा उपलव्ध भएको बताए।