१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर अन्तिम साता सागका पदकधारी खेलाडीलाई जनही पुरस्कार दिने घोषणा गरेका थिए। प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कार्यविधि भन्दा बढी भएकाले संशोधनबिना पुरस्कार दिन सकिएको थिएन।
संशोधन गरिएको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको हो। सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेको जानकारी दिएका हुन्।
प्रधानमन्त्रीले सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए। यस्तै टिममा लागि स्वर्ण जित्ने खेलाडीका लागि जनही ५ लाख दिने पनि प्रधामन्त्रीले घोषणा गरेका थिए। एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने प्रधानमन्त्रीको घोषणा थियो। प्रधामन्त्रीको घोषणा अनुसार नै कार्यविधिमा संशोधन गरिएको छ।
नयाँ कार्यविधिमा टिममा रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ।
मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
कार्यविधिमा रजत र कास्य विजेता तथा टिम गेम्सका प्रशिक्षकलाई पनि पुरस्कारको व्यवस्था छ। यस्तै कार्यविधिले सहायक पुरस्कारका लागि पनि पुरस्कारको व्यवस्था गरेको छ।
प्रधानमन्त्रीले सागका पदक विजेतालाई बढाएर पुरस्कार घोषणा गरेसँगै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले बैठक बस्दै कार्यविधि संशोधन गर्ने प्रक्रिया अघि बढाएका थिए।
संशोधिन कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै अब पुरस्कार दिने प्रक्रिया अघि बढ्नेछ।
पुरस्कार प्रदानका लागि सुरुमा सिफारिस समितिले सिफारिस गर्नु पर्नेछ। सिफारिस समितिमा खेकलुद मन्त्रालयका सचिव संयोजक रहेको पाँच सदस्य हुनेछन्।
समितिले तीन महिना भित्रमा पुरस्कार दिनका लागि सिफारिस गर्नु पर्नेछ। पुरस्कार दिँदा खेलकुद मन्त्रालयले सार्वजनिक कार्यक्रम गर्नु पर्नेछ।
पुरस्कारका लागि आवश्यक व्यवस्था खेलकुद मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विनियोजित बजेटबाट प्रदान गरिनेछ।