१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिनका लागि तीन महिनापछि बाटो खुलेको छ।
मन्त्रिपरिषद्ले गत समोबार खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनलाई स्वीकृत गरेपछि खेलाडीका लागि पुरस्कार दिने बाटो खुलेको हो।
नयाँ कार्यविधिमा सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने उल्लेख छ। एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरि कार्यविधिमा संशोधन गरिएको छ।
नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ।
मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
कार्यविधिमा स्वर्ण, रजत र कास्य विजेता खेलका प्रशिक्षक र सहायक प्रशिक्षकलाई पनि पुरस्कारको व्यवस्था छ भने सम्बन्धित संघलाई पनि पुरस्कार दिइनेछ।
प्रधानमन्त्री केपी ओलीले सागका पदक विजेतालाई बढाएर पुरस्कार घोषणा गरेसँगै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले बैठक बस्दै कार्यविधि संशोधन गर्ने प्रक्रिया गत पुष पहिलो साता अघि बढाएका थिए।
संशोधिन कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै अब पुरस्कार दिने प्रक्रिया अघि बढ्नेछ।
खेलाडी, प्रशिक्षक र संघले कति-कति पुरस्कार पाउँछन्?
| अहिले पाउने पुरस्कार | पहिलाको पुरस्कार |
व्यक्तिगत स्वर्ण | ९ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
व्यक्तिगत रजत | ६ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
व्यक्तिगत कास्य | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
२ भन्दा बढी व्यक्तिगत स्वर्ण | प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ | व्यवस्था नभएको |
टिम स्वर्ण - जनही | ६ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
टिम रजत - जनही | ४ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
टिम कास्य - जनही | ३ लाख रुपैंयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने प्रशिक्षक | ५ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
रजत दिलाउने प्रशिक्षक | ३ लाख रुपैयाँ | २ लाख रुपैयाँ |
कास्य दिलाउने प्रशिक्षक | २ लाख रुपैयाँ | १ लाख रुपैयाँ |
स्वर्ण दिलाउने सहायक प्रशिक्षक | ३ लाख रुपैयाँ | १ लाख ७५ हजार रुपैयाँ |
रजत दिलाउने सहायक प्रशिक्षक | २ लाख रुपैंयाँ | १ लाख रुपैयाँ |
कास्य दिलाउने सहायक प्रशिक्षक | १ लाख रुपैयाँ | ५० हजार रुपैयाँ |
स्वर्ण दिलाउने सम्बन्धित संघ | ५ लाख रुपैयाँ | ५ लाख रुपैयाँ |
रजत दिलाउने सम्बन्धित संघ | ३ लाख रुपैयाँ | ३ लाख रुपैयाँ |
कास्य दिलाउने सम्बन्धित संघ | २ लाख रुपैयाँ | २ लाख रुपैयाँ |