हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकाका बास्केटबल खेलाडी कोबे ब्रायन्टको नाम एनबिएको हल अफ फेमको सूचीमा समावेश गरिने भएको छ।
ब्राइन्टलाई जेम्स नइस्मिथ मोमोरियल हल अफ फेमको सूचीमा राखेर सम्मानित गरिने भएको हो।
गत माघ दोस्रो साता क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको थियो।
पाँच पटक नेशनल बास्केटबल एसोशिएन (एनबिए) च्याम्पियन बनेका ब्रायन्टलाई बास्केटबलको इतिहासमा सबैभन्दा सफल खेलाडी मध्ये एक मानिन्छ।
सन् २००७-०८ को सिजनमा उत्कृष्ट खेलेबापत मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड पाएका थिए।
उनी एनबिएको फाइनलमा दुई पटक मोस्ट भ्यालुएबल खेलाडी भएका थिए। उनले सन् २००८-०९ र २००९-१० को सिजनमा सो अवार्ड हात पारे।
ब्रायन्टले दुई पटक ओलम्पिक स्वर्ण जिते। उनले अमेरिकाका लागि २००८ र २०१२ मा ओलम्पिकको स्वर्ण जिताउन उत्कृष्ट खेलेका थिए।