एकातिर खेलकुद पृष्ठभूमी भएकाले नै खेलकुदको नेतृत्व गर्ने अवस्था सिर्जना हुनु पर्छ भन्ने बहस छ। धेरै–थोरै हाम्रो खेलकुदमा त्यो अभ्यास पनि हुने क्रममा थियो।
हामी कतिपयले खेलाडीका रुपमा प्राप्त गरेको ऐतिहासिक सफलताका आधारमा सरकारले सम्मान बाफत प्रशिक्षकको नियुक्ति दिएको थियो। सँगै हामी जस्ता कतिपयले खेलको विकासका लागि सम्बन्धित संघको केन्द्रीय समितिमा रहेर स्वयम्सेवकको रुपमा काम गर्ने अवसर पाएका थियौं।
जसले थोरै मात्रै भएपनि संघ सञ्चालन र खेलाडीको मार्का बुझ्ने मामलामा सहज भएको महसुस गरेका थियौं।
तर, खेलकुद विकास ऐन २०७७ ले संघ वा प्रशिक्षक मध्ये एक रोज्नुपर्ने बाध्यतामक अवस्था सिर्जना भएको छ।
बिनाकुनै पृष्ठभूमी खेल संघमा बस्नु र हामी जस्तालाई खेलाडी संघको भूमिकामा रहनुलाई एउटै डालोमा राखेर व्यवहार गर्नु कदापी सुखद् होइन।
अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता दिलाए बापत सरकारले सम्मान स्वरुप दिएको प्रशिक्षकको नियुक्तिलाई कतिपयले फगत जागिरका रुपमा मात्र हेर्नुलाई सहि मान्न सकिन्न।
सम्बन्धित समाचार :- दीपक विष्ट र संगीना वैद्यले दिए तेक्वान्दो संघबाट राजीनामा, उपेन्द्रमानले खेलकुद परिषद्को जागिर त्यागे
भूमिका जे होस् नेपाली खेलकुदको विकास र बिस्तारमा जिन्दगीको अन्तिम समयसम्म आफू लाग्नेमा दृढ छु।
तर, समय–समयमा आउने यस्ता निर्णय र व्यवस्थाले कहिलेकाहीँ अपमान समेत भएको महसुस हुन्छ।
अहिले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिँदै प्रशिक्षकमा यथावत रहने निर्णय गरेको छु।
भोलीका दिनमा तेक्वान्दो परिवारले आवश्यकता महसुस गरेको खण्डमा प्रशिक्षक पद त्यागेर संघ र समग्र खेलकुदको कुनै पनि जिम्मेवारीका लागि आफू तयार रहेको पनि जानकारी गराउँन चाहन्छु।
(खेलकुद विकास ऐनमा संघको कार्यसमितिमा प्रशिक्षक बस्ने नपाउने व्यवस्था राखिएपछि ओलम्पियन दीपक विष्टले फेसबुकमार्फत व्यक्त गरेको धारणा)