नेपाल बक्सिङ संघमा अनियमितता भएको भन्दै संघका महासचिव र कोषाध्यक्षले उजुरी दिएपछि राष्ट्रिय खेलकुद परिषद्ले विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
खेलकुद परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बक्सिङ संघका अध्यक्ष राम अवालेलाई सात दिनभित्र आर्थिक कारोबारका विवरण उपलब्ध गराउन पत्राचार गरेका छन्।
महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजाखुले गत साउन १४ गते नेपाल बक्सिङ संघमा आर्थिक अनियमितता सम्बन्धमा छानविन गरी दोषी उपर कारबाही गरि पाउ भनी विभिन्न पाँच बुँदा उल्लेख गरी परिषद्मा उजुरी दिएका थिए।
सो उपजुरीपछि त्यस सम्बन्धमा सत्यतथ्य विवरण खुलाइ सात दिन भित्र परिषद्मा पेश गर्न संघ संस्था समन्वय शाखाले निर्देशन दिएको हो।
यसअघि महासचिव भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको गम्भीर आरोप लगाएका थिए।
संघमा आर्थिक अनियमितता भएको, अध्यक्षले बक्सिङ खेलको विकासमा ध्यान नदिएको र एकलौटी रुपमा संघ संचालन गरेको महासचिवको थप आरोप थियो।
तर अध्यक्ष अवालेले आरोप खण्डन गरेका थिए।
गत साउन १५ र १६ गते बसेको बैठकमा आर्थिक प्रतिवेदनमा छलफल हुँदा महासचिवले विमति राखेपछि विवाद सुरु भएको थियो।