टोकियो ओलम्पिक छनोट प्रतियोगिताको तयारी गरिरहेका कराते खेलाडीद्वय अनु अधिकारी र नवीन रसाइलीको प्रशिक्षण फेरि स्थगित भएको छ।
कराते प्रशिक्षक दीपक श्रेष्ठका अनुसार कोरोना भाइरसको संक्रमित बढिरहेकाले प्रशिक्षण मंगलबारदेखि स्थगित गरिएको हो।
सरकारले भदौ १ बाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न अनुमति दिए पनि कराते खेलाडीको ओलम्पिक छनोटको तयारी हाललाई स्थगित गरिएको हो।
आइतबार नेपालको राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसबाट संक्रमित भएका थिए।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित स्क्वास हलमा सँगै खेलेका साथीलाई कोरोना भएपछि थापाले परीक्षण गराउदा उनलाई कोरोना लागेको पुष्टि भएको थियो।
'केहि दिन अगाडि खेल क्षेत्रका व्यक्तिलाई संक्रमण भएको खबर आएको हुँदा केहि समय सचेत रहनु पर्ने अवस्थाले प्रशिक्षण स्थगित गर्ने निर्णय गरेका हौं,' कराते प्रशिक्षक श्रेष्ठलेभने,'सरकारको निर्देशनलाई पालना गर्दै सातदोबाटोस्थित कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका कराते खेलाडीको प्रशिक्षण अब केहि दिन हुँदैन।'
ओलम्पिक छनोटका लागि खेलाडीहरुले लकडाउन अघिदेखि नै तयारी गरेका थिए। लकडाउनका कारण चार महिना रोकिएको अभ्यास गत असार ७ देखि सम्बन्धित निकायलाई जनकारी गराएर सुरु गरिएको थियो।
प्रशिक्षणका दौरान कोरोना भाइरसबाट जोगिनका लागि सुरक्षा अपनाइएको थियो भने खेलाडीहरुले भाइजर लगाएर अभ्यास गर्ने गरेका थिए।
ओलम्पकिको छात्रबृत्ति पाएका अनु र नवीनले सुरुमा ओलम्पिक छनोट खेल्नेछन्।
छनोट पार गर्न नसकेको अवस्थामा दुवैले ओलम्पिक खेल्नका लागि वाइल्ड कार्ड पाउनु पर्नेछ। छात्रबृत्ति पाएका खेलाडीले वाइल्ड कार्ड पाउने सम्भावना बढी हुने हुन्छ तर पक्का नै भने हुँदैन।