सन् २०२० को बाँकी पाँच महिना नेपाली राष्ट्रिय फुटबल र क्रिकेट टिमको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नहुने भएको छ।
बुधबार फुटबल टिमले खेल्ने फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिता स्थगित भएपछि फुटबल र क्रिकेट दुवै टिम प्रतियोगिताबिहीन बनेका हुन्।
फिफाले कोरोना भाइरसका कारण अक्टोबर र नोभेम्बरमा तय छनोट स्थगित गर्ने निर्णय भएको जनाएको हो।
छनोट प्रतियोगिता अब २०२१ का लागि तय गरिने बताइए पनि मिति तोकिएको छैन।
विश्वकप छनोट बाहेक नेपालले यो वर्ष साफ च्याम्पियनसिप खेल्ने तय थियो। साफ पनि कोरोनाका कारण स्थगित भइसकेको छ।
कोरोना महामारीका कारण नेपालले मैत्रीपूर्ण खेल हुने सम्भावना पनि न्यून छ।
नेपाली सिनियर फुटबल टिमले पछिल्लो पटक गत वर्षको नोभेम्बरमा कुवेतविरुद्ध विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको थियो। भुटानमा भएको खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।
मंसिर भएको १३औं सागमा नेपाली यु–२३ टिमले प्रतिस्पर्धा गरेको थियो। त्यसपछि चैतमा नेपालले विश्वकप छनोटमा अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्ने तय थियो। तर कोरोनाका कारण खेल स्थगित भयो।
राष्ट्रिय क्रिकेट टिमले पनि २०२० मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने सम्भावना छैन।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई २०२० मा बाँकी पाँच महिना नेपालको कुनै पनि अन्तर्राष्ट्रिय खेल नभएको जनाकारी गराएको थियो।
जसका कारण नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी भदौ पहिलो साता गर्ने भने पनि स्थगित गरिएको थियो।
यसअघि आइसिसीले विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बर २० देखि (असोज ४) नामिबियामा गर्ने प्रस्ताव गरेको थियो। तर क्यानले यो मितिमा सम्भव नहुने संकेत गर्दै जवाफ पठाएको थियो।
नेपाली क्रिकेट टिमले पछिल्लो पटक गत माघमा अमेरिका र ओमानसँग कीर्तिपुर मैदानमा त्रिकोणात्मक सिरिज खेलेको थियो।
कोरोनाभाइरसका कारण लिग–२ का सिरिजहरु चैतदेखि स्थगित छन्। लिगमा नेपालले अहिलेसम्म ४ खेल मात्र खेलेको छ।