विश्वका कीर्तिमानी धावक तथा ओलम्पिकमा आठ स्वर्ण जितेका उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण भएको छ।
जमैकन धावक बोल्टले ३४ औं जन्मदिनको अवसरमा चार दिनअघि माक्स-फ्रि पार्टी आयोजना गरेका थिए। पार्टी गरेको चार दिनपछि कोरोनाको संक्रमण भेटिएपछि उनी अहिले घरमै सेल्फ क्वारेन्टिनमा बसेका छन्।
जमैकाको स्वास्थ्य मन्त्रालयले सोमबार बोल्टलाई कोरोना भएको पुष्ट गरेको हो।
सय र दुई समय मिटर दौडका विश्व कीर्तिमानी धावक बोल्टले यसअघि आफूले कोरोनाको टेस्ट गराएको र त्यसको नतिजा आउन बाँकी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेका थिए। त्यस लगत्तै मन्त्रालयले उनलाई कोरोना भएको जनाएको थियो।
'सुरक्षित रहनका लागि म क्वारेन्टिनमा बसेको छु। अहिले मलाई सहज छ,' उनले भिडिओमा भनेका छन्,'सबै सुरक्षित रहनु होला।'
सन् २०१७ मा दौडबाट संन्यास लिएका बोल्ट लगातार तीन ओलम्पिकमा सय र दुई सय मिटरमा स्वर्ण जित्ने एक्ला धावक हुन्। उनले २००८, २०१२ र २०१६ को ओलम्पिकमा स्वर्ण जितेका थिए।
कोरोना लागेका बोल्टलाई कुनै लक्षण देखिएको छैन।
उनले शनिबार कोरोनाको परीक्षण गराएका थिए। शुक्रबार उनले जन्मदिनको अवसरमा पार्टी गरेका थिए। जहाँ मास्क लगाउन अनिवार्य थिएन। सो पार्टीमा जमैकाका गायक कोफीले गीत गाएका थिए।
उनले पार्टीपछि जीवनकै उत्कृष्ट जन्मदिन भन्दै इन्स्टाग्राममा फोटो पोस्ट गरेका थिए।
अहिले बोल्टले गरेको उक्त पार्टीको आलोचना भइरहेको छ। सामाजिक दूरी कायम नगरेको तथा मास्क नलगाएको भन्दै कतिपयले आक्रोश व्यक्त गरेका छन्।