नेपालको राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसमुक्त छन्। थापा संक्रमित भएको २४ दिनपछि कोरोनामुक्त भएका हुन्।
सोमबार विहान कोरोनाको नेगेटिभ नतिजा आएको थापाले बताए। परिवारसँगै सातदोबाटोस्थित स्क्वास एकेडेमीमा क्वारेन्टिनमा बसेका थापा अब घर फर्नेछन्।
परिवारसँगै घर फर्कने थापा घरमा पनि केहि दिन क्वारेन्टिमा बस्नेछन्। कोरोना संक्रमित हुँदा थापालाई कुनै लक्षण देखिएको थिएन।
उनले कोरोना लागेपछि स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।
यसअघि थापा साउन दोस्रो साता कोरोना संक्रमित भएका थिए। सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित स्क्वास हलमा सँगै खेलेका साथीलाई कोरोना भएपछि परीक्षण गराउदा थापालाई कोरोना देखिएको थियो।
१७ पटकका राष्ट्रिय स्क्वास च्याम्पियन थापा २०६० देखि राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक हुन्। लामो समय स्क्वासमा बिताएका थापाले नवौं सागमा कास्य जितेका थिए।
थापाको छोरा र छोरी पनि स्क्वास खेलाडी हुन्। छोरा अमृत र छोरी कृष्णाले १३औं सागमा कास्य जितेका थिए।