वर्षको अन्तिम ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता युएस ओपनको महिला एकलअन्तर्गत विश्न नम्बर तीन कारोलिना प्लिस्कोभा दोस्रो चरणमै पराजित भएकी छिन्।
उनलाई फ्रान्सकी ५० औं वरीयताकी क्यारोलिन गार्सियाले २-० को सेटमा पराजित गरेकी हुन्।
युएस ओपनको सन् २०१६ की उपविजेता प्लिस्कोभालाई गार्सियाले ६-१ र ७-६ (७-२) ले पराजित गरेकी हुन्।
विश्व नम्बर एक अस्ट्रेलियाकी अस्लेघ बार्टी र नम्बर दुई रोमानियाकी सिमोना हलेपको अनुपस्थितिमा प्लिस्कोभा युएस ओपनमा भाग लिने उच्च वरीयताकी महिला खेलाडी थिइन्।
यता चौथो वरीयताकी नाओमी ओसाका, छैटौ वरीयताकी पेट्रा केभिटोभा, आठौं वरीयताकी पेट्रा मार्टिक र १४औं वरीयताकी एनेट कोन्टाभेट भने जित निकालेर अघिल्लो चरणमा पुगेका छन्।
पुरुष एकलतर्फ विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोविच अघिल्लो चरणमा पुगेका छन्।
उनले ब्रिटेनका केल इडमन्डलाई ६-७ (५-७), ६-३, ६-४ र ६-२ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएका हुन्।