विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचलाई जारी युएस ओपन खेल्न अयोग्य घोषित गर्दै प्रतियोगिताबाट निष्कासन गरिएको छ।
न्युयोर्कमा भइरहेको युएएस ओपनको चौथो चरणको खेलमा जोकोविचले फ्याँकेको बलले दुर्घटनाबस लाइन जजलाई लागेको थियो।
३३ वर्षीय जोकोविच लगातार सर्भिस बिग्रिएपछि आक्रमक भएका थिए। स्पेनका पाब्लो कारेनोविरुद्धको खेलमा ६-५ ले पछि परेको अवस्थामा घटना घटेको थियो।
उनले खेलका क्रममा आफ्नो खल्तीमा रहेको बल निकालेर पछाडि पट्टी फ्याँकेका थिए। जुन बलले लाइन जजलाई लगेको थियो। बलले महिला जजको घाँटीमा लागेको थियो।
लाइन जजलाई बल लागेपछि खेल रोकिएको थियो। त्यसक्रममा लामो छलफल भएको थियो भने जोकोविचलाई अयोग्य घोषित गरिएको थियो।
युएस टेनिस संघले जोकोविचले ग्रान्डस्लामको नियम तोडेको तथा उनले जानाजान हानेको बलले जज घाइते हुन सक्ने अवस्था भएकाले निष्कासन गरिएको जनाएको छ।
जोकोविच प्रतियोगिताको मुख्य दाबेदार थिए। किनभने उनका चिरप्रतिस्पर्धी रोजर फेडेरर र राफयल नाडलले प्रतियोगितामा भाग लिएका थिएनन्।
जोकोविच करिअरको १८औं ग्रान्डस्लाम जित्ने अभियानमा थिए।
प्रतियोगिताबाट अयोग्य घोषित हुनुअघि जोकोविचले सन् २०२० मा कुनै खेल गुमाएका थिएनन्।