अस्ट्रियाका डोमिनिक थिमले युएस ओपनको पुरुष एकलतर्फको उपाधि जितेका छन्।
पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने क्रममा २७ वर्षीय थिमले जर्मनीका लेक्जेन्डर जवेरवलाई ३-२ को सेटमा पराजित गरे।
दोस्रो वरीयताका थिमले यसअघि तीन वटा मुख्य प्रतियोगिताका फाइनलमा हार बेहोरेका थिए।
यता २३ वर्षीय जवेरवले सुरुवाती दुई सेटमा जित हात पारेर पनि उपाधि जित्न सकेनन्।
जवेरवले पहिलो सेट ६-२ र दोस्रो सेट ६-४ ले जितेर राम्रो सुरुवात गरेका थिए। त्यसपछिका तीन सेटमा भने थिम लयमा फर्किए।
थिमले तेस्रो सेट ६-४ ले आफ्नो पक्षमा पारे। चौथो सेटमा थिमले ६-३ को जित निकालेपछि खेल २-२ को बराबरीमा पुगेको थियो।
निर्णायक तथा पाँचौ सेटमा लम्बिएको थियो। जसमा थिम ७-६ (८-६) ले विजयी भएर उपाधि जित्न सफल भए।
सन् २००४ को फ्रेञ्च ओपनको फाइनलपछि पहिलो दुई सेटमा पछि परेर पनि ग्रान्डस्लामको उपाधि जित्ने थिम पहिलो खेलाडी बने।
सन् २००४ को फ्रेन्च ओपनको फाइनलमा अर्जेन्टिनाका गास्टन गाउडियोले पहिलो दुई सेट गुमाएर पनि उपाधि जितेका थिए।