ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन्।
शाक्यसँगै उनका श्रीमान् बास्केटबल प्रशिक्षक विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको सार्वजनिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताए। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताए।
पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिए।
तीनै जना घरमै आइसोलेसनमा बसेका छन्। सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेका छन्।
शाक्य र शाही दुवै जना हाल बास्केटबलको प्रशिक्षणमा संलग्न छन्।