बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई एक वर्षे सम्झौताअघि नै स्वदेश फर्कने भएका छन्। रहिमुभ बिहीबार राति स्वदेश (उज्वेकिस्तान) फर्कन लागेका हुन्।
नेपालबाट उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ जाने छन्। त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर तास्केन्त जाने तालिका छ। रहिमुभको नेपालबाट बिहीबार राती १०ः३० बजेको उडान छ।
रहिमुभ गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्।
बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिहीबार बिदाइ गरे ।
रहिमुभको प्रशिक्षणमा नेपालले बक्सिङको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको बक्सिङ संघले जनाएको छ।
उनको प्रशिक्षणमा नेपालले नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो।
१३ औं सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउट जितेका थिए।
स्वदेश फर्कनुअघि प्रशिक्षक रहिमुभले अझ राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीमा विगतको भन्दा राम्रो नतिजा दिने क्षमता रहेको बताए।