सरकारले यस वर्षको संविधान दिवसको अवसरमा प्रदान गर्ने घोषणा गरेको विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरिने व्यक्तिको सूचीमा देशका लागि पदक जितेका खेलाडी भने उपेक्षामा परेका छन्।
शनिबार ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान सूची निकालेकोमा पदक विजेता खेलाडी उपेक्षमा परेका हुन्।
गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका १५ जना भने विभूषित हुनेछन्। तर स्वर्ण जितेका बाँकी खेलाडीसहित रजत र कास्य जितेका खेलाडी भने सूचीमा अटाउन सकेनन्।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य जितेको थियो। यो पदक नेपालले साग इतिहासमा हात परेको अहिलेसम्मकै बढी हो। साथै नेपालले २० वर्षपछि पदक तालिकामा दोस्रो स्थान हात पारेको थियो।
सम्मान गर्ने सूचीमा स्वर्ण विजेता खेलाडी नपरे पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र राखेपका विभागिय प्रमुख कुलबहादुर थापा खेल क्षेत्रबाट सम्मानित हुनेछन्।
देशका लागि पदक जित्ने सबै खेलाडी विभूषित हुने सूचीमा नपरेकोमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीमाथि अपमान भएको बताएको छ।
'देशले विभिन्न कार्यक्रममार्फत संविधान दिवस मनाईरहँदा सिंगो खेल क्षेत्र भने निराश हुनुपर्ने अवस्था श्रृजना भएको छ,' संघका अध्यक्ष दीपक श्रेष्ठले विज्ञप्ति निकाल्दै भनेका छन्।
'त्यतिबेला सरकारसहित देशवासीले सफलताका लागि खेलाडी, प्रशिक्षकसहित सम्बन्धित सबैलाई बधाई दिएका थिए। त्यो सफलताका लागि खेलाडी सम्मानको हकदार थिए। त्यो सम्बन्धित निकायले ध्यान दिनुपर्ने विषय थियो,' विज्ञप्तीमा भनिएको छ,'खेलाडीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए, तर अहिले सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले भने अपमान महसुस गर्नुपर्ने दुःखद् अवस्था सृजना भएको छ।'
यसअघि युवा तथा खेलकुद मन्त्रालयको निर्देशन भन्दै राखेपले १३ औं सागका स्वर्ण पदक विजेतालाई सरकारले दिने यहि मानपदवीका लागि भन्दै फारम भर्न लगाइएको थियो।
संघले त्यतिबेला सागका पदक विजेता हरेक खेलाडी मानपदवीको हकदार भएको उल्लेख गर्दै फारम भराउनु गलत भएको आवाज उठाएको थियो।
त्यसका वावजुद पनि स्वर्ण पदक विजेता खेलाडीले फारम भरेर राखेपलाई बुझाए पनि सूची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेका बाहेक कुनै पनि खेलाडी त्यसमा मानपदवीको सूचीमा समावेश हुन सकेनन्।
'यसले खेलाडी र खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण फेरि एकपटक उजागर भएको छ,' संघको भनाइ छ,'सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई रहदैन। यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको उल्लेख गर्न चाहन्छौं। आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ।'