आइतबारबाट प्रशिक्षणमा फर्कन पाउँने खबरले राष्ट्रिय ब्याडमिन्टन खेलाडी उत्साहित थिए।
लामो समयपछि प्रशिक्षण गर्नका लागि नयाँ जोशका साथ खेलाडीहरु आइतबार विहानै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा पुगेका थिए।
कभर्डमा पुगेपछि भने खेलाडीको उत्साह धेरैबेर टिक्न सकेन। पहिलो दिन कभर्ड हलमा पस्दा हलको अवस्था भने दयनीय थियो। अभ्यास गर्ने वातावरण थिएन।
एकातिर कभर्ड हलको मर्मत सम्भार काम भइरहेको थियो भने अर्कातिर बिछ्याइएको म्याट र हलको भुइँ फोहोर थियो।
त्यसैले प्रशिक्षण गर्नुको साटो खेलाडी आफैँ सरसफाइमा जुटे।
कभर्ड हल फोहोर भएपछि खेलाडीहरू बाल्टिनमा पानी, हातमा झाडु र पोछा लिएर परेवाले गरेको फोहोर सफा गर्न व्यस्त थिए।
प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरेर कुरिरहेका थिए।
नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्ने शुक्रबार सार्वजनिक गरेको थियो।
कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो।
उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो।
सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण गरेको थियो। प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा संघको भनाइ छ।
यसअघि प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनु अघि निर्मलीकरण गरिने बताइएको थियो।
तर, आइतबार खेलाडी अभ्यासमा आउँदा समेत कभर्ड हल अस्तव्यस्त अवस्थामा देख्दा खेलाडी निरास भएका थिए।
खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार छन्। आइतबारबाट अभ्यासमा फकर्ने संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडीमैत्री हुन सकेन।
दुई घन्टा लामो सरसफाइपछि मात्र कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए।
तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए। प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए।