नेपालगञ्ज म्याराथन मंसिर पहिलो साता हुने भएको छ। क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुने छैटौं धारा नेपालगन्ज म्याराथन मंसिर ६ गते हुने भएको हो।
सरकार र तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ। नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगञ्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भएको छ।
यस्तै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगञ्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ। विजेतालाई टोकियो ओलम्पिकका लागि छनोट गरिनेछ।
यस संस्करणको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइने आयोजकले जनाएको छ।
कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न आयोजकले अनुरोध गरेको छ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ। पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन विधामा प्रतिस्पर्धा हुनेछ।
गत वर्ष ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समावेश गरिएको थियो।
कर्पोरेर फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुको सहभागिता रहनेछ। खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई पुरस्कृत गरिनेछ।
नेपालगञ्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा पूरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन्।
म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौ सेनाका नवराज साउद विजेता भएका थिए।
त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन्।