बिहीबार मन्त्रिपरिषद्ले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन्।
लामो समय घरमै अभ्यास गर्दा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन्।
करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषद्को पछिल्लो निर्णयले राहत मिलेको हो।
शुक्रबार विहान त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए।
बक्सिङ प्रशिक्षक तेज बहादुर थापा मगरले मन्त्रिपरिषद निर्णयले आफूहरु खुसी भएको बताए।
उनले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगत रुपमा सफलता हात पार्ने बताइन्।
राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्ड हलमा उसुका खेलाडीले पनि शुक्रबार अभ्यास गरेका छन्।
सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क थिए। अभ्यासमा आएका उसु खेलाडी दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखि सबै पूर्वाधार व्यवस्था गर्नुपर्ने बताए।
यस्तै राष्ट्रका लागि स्वर्ण पदक दिलाएकी निमा घर्तीमगरले पनि लकडाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताइन्।
यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन्। अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन्।
फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगाएतका अन्य प्रतियोगिता हुने वा नहुने यकिन छैन्। त्यसका लागि गर्नु पर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नु पर्ने अवस्था आएको छ।