संसारकै प्रभावशाली 'टप २५' इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा तीन जना खेलाडी परेका छन्।
पिंकभिल्लाका अनुसार, हाइप अडिटरले सार्वजनिक गरेको प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो, अर्जेन्टाइन स्टार लिओलन मेसी र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली छन्।
टप २५ को सूचीमा पहिलो स्थानमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोको प्रत्येक पोष्टमा ४५ लाख बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइयो।
दोस्रो नम्बरमा गायिका कायली जेनर र तेस्रो स्थानमा केन्डल जेनर छन्।
'इन्फ्लुएन्सर मार्केटिङ हब' को आधिकारिक वेभसाइट अनुसार चौथो स्थानमा फुटबलर लिओनल मेसी परेका छन् भने पाँचौं स्थानमा गायिका सेलेना गोमेज छिन्।
भारतीय टिमका कप्तान विराट कोहोली सूचीको ११ औं स्थानमा परेका छन्। उनी भन्दा अघि १० औं स्थानमा अमेरिकी गायिका बियोन्से परेकी छन्।
शीर्ष २५ मा भारतबाट थप दुई जना छन्। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेत्री अनुष्का शर्मा छन्।
मोदी सूचीको १९ औं स्थानमा परेका छन्। अभिनेत्री अनुष्का शर्मा पनि 'टप-२५' को अन्ततिर छिन्। २४ औं स्थानमा परेकी उनीअघि क्रमशः अमेरिकी मिडिया क्षेत्रकी खोले कार्दासियन र गायिका रिहाना परेका छन्।
हाइप अडिटरले डेटा संकलन र त्यसको विश्लेषण गरेर सूची प्रकाशन गरेको हो।
पिंकभिल्लाका अनुसार, हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको सूची सार्वजनिक गरेको हो। यो सूची प्रयोगकर्ताको फलोअर्स, उनले राखेको पोष्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा तयार पारिन्छ।