आसन्न १७ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७६ का लागि होटल क्राउन प्लाजासँग प्रयोजन सम्झौता भएको छ।
आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रमबीच क्राउन प्लाजासँग सह-प्रायोजकको रुपमा सम्झौता गरेको हो।
मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भयो।
लामो समयदेखि अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्दै आएको क्राउन प्लाजाले सम्झौतालाई यस वर्ष पनि निरन्तरता दिएको हो।
सम्झौता अनुसार क्राउन प्लाजाले करिब ५ लाख रुपैयाँ बराबरको सेवा अवार्ड कार्यक्रमलाई उपलब्ध गराउनेछ।
पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुँदैछ।
अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन्।