नेपालकी पुष्पा भण्डारीले म्याराथनमा ऐतिहासिक स्वर्ण जितेकी छिन्।
नेपाल एपिएफ क्लबमा आबद्ध पुष्पाले आइतबार बंगलादेशको राजधानी ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी हुन्।
नेपालका लागि महिला खेलाडीले म्याराथनमा अन्तर्राष्ट्रिय स्वर्ण जितेको यो पहिलो पटक हो।
पुष्पाले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा दौड पूरा गर्दै दक्षिण एसिया क्याटागोरीमा स्वर्ण जितेकी हुन्।
दोस्रो स्थान भारतकी खेलाडीले हात पारेकी छिन्। एक महिनाको छोटो तयारीमै स्वर्ण जित्न पाउँदा खुसी लागेको पुष्पाले ढाकाबाट सेतोपाटीलाई बताइन्।
पुष्पाका अनुसार उनले स्वर्ण जितेबापत ६ लाख ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्।
उनी गत वर्ष नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता हुन्।
प्रतियोगितामा पुरुषतर्फ भाग लिएका नेपालका किरणसिंह बोगटी भने चौथो भएका छन्।
किरणले १३औं सागमा स्वर्ण जितेका थिए।
पुष्पाको संघर्षको कथा :
सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भण्डारीले म्याराथनतर्फ सहभागिता जनाएकी थिइन्।
४२ किलोमिटरको दौड उनले ३५ किलोमिटर दौडेपछि बीचैमा छाड्नुपर्यो। त्यसबेला भारत पुगेपछि बिरामी भएकी पुष्पाले दौड पूरा गर्न सकेकी थिइनन्।
इच्छा हुँदाहुँदै पनि शरीरले नै साथ नदिएपछि के गर्ने? उनको इच्छा गत वर्ष नेपालमा आयोजना भएको सागमा पूरा भयो।
उनले नेपालका लागि ऐतिहासिक रजत पदक पनि दिलाइन्।
साग म्याराथनमा नेपाली महिला धाविकाले रजत जितेको यो पहिलो हो।
'१२ औं सागमा दौड पूरा गर्न सकिनँ,' उनले त्यतिबेला भनेकी थिइन्, 'त्यो पीडा भुलाउन १३ औं सागमा रजत जित्न पाउँदा निकै खुसी छु।'
उनले दुई घण्टा ५० मिनेट ११ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।
यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा तीन घण्टा १० सेकेण्डमा दौडिएकी थिइन्।
'अमेरिकामा बसेर प्रशिक्षण गर्ने श्रीलंकन खेलाडी स्तरीय छिन्,' उनको भनाइ थियो, 'उनी जस्ता खेलाडीसँग खेल्न हामीले धेरै मिहिनेत गर्नुपर्छ। अहिले मैले आफ्नो समय सुधार गरेको छु, यसमै खुसी छु।'
२०६९ देखि सशस्त्र प्रहरी बलमा आबद्ध सल्यालकी २५ वर्षीया पुष्पा आफ्ना बुवाको प्रेरणाले सागमा पदक जित्न सफल भएकी हुन्।
उनले ११ वर्षको उमेरमै दौडमा भाग लिन थालेकी थिइन्।
गाविसमा पहिलो भएकी उनी इलाका स्तरमा पनि पहिलो भइन्। तर जिल्लामा भने अन्तिम स्थानमा दौड पूरा गरिन्।
'स्कुलमा लामो दौडमा पहिलो भएपछि मैले जिल्लासम्म खेल्ने अवसर पाएकी थिएँ। तर जिल्लामा अन्तिम पो भएँ,' उनको भनाइ छ, 'त्यसपछि खेलाडी बन्ने इच्छा त्यागेर पढाइमा केन्द्रीत भएँ।'
५ वर्षपछि उनी फेरि खेलमा फर्किइन्।
२०६८ मा धनगढीमा हुने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोटमा भाग लिइन्।
जिल्ला र क्षेत्रीय हुँदै उनले १५ वर्षको उमेरमै राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने पक्का भयो। धनगढीमा भएको राष्ट्रिय खेलकुदमा उनले म्याराथनमा रजत पदक हात पारिन्।
तर उनको प्रतिभालाई कसैले देखेनन्।
उनका लागि २ वर्षसम्म पनि राष्ट्रिय टिमका लागि ढोका खुल्न सकेन।
'१५ वर्षको उमेरमा रजत जितेको झण्डै २ वर्षसम्म पनि कसैले वास्ता गरेन,' उनले भनिन्, 'खेलेर केही नहुने रहेछ भनेर पढाइमा ध्यान दिन थालेँ।'
२०६९ मा राष्ट्रिय खेलकुद परिषद्ले लुम्बिनी च्याम्पियनसिप आयोजना गर्यो। जुन च्याम्पियनसिपमा उनले विभागका खेलाडीलाई चकिद पार्दै स्वर्ण जितिन्। त्यसपछि भने उनी सशस्त्र प्रहरीमा करारमा आबद्ध हुन सफल भइन्। २०७५ सालदेखि उनी स्थायीरूपमै सशस्त्र प्रहरीमा भर्ना भएकी छिन्।
सशस्त्रमा आबद्ध भएपछि उनको खेल करिअरले गति लिइरहेको छ।
सशस्त्रले खेल्ने वातावरण मिलाए पनि खेलाडी हुनुको श्रेय उनी आफ्नो बुवालाई दिन चाहन्छिन्।
'गाउँमा कसैले छोरी पढाउन हुन्न भन्ने बेलामा मेरो बुवाले छोरीहरूलाई स्कुल पठाउनु हुन्थ्यो। कतिपयले मेरो बुवालाई गाउँबाटै लखेट्नु पर्छसम्म भने,' उनले भनिन्, 'सायद मेरो बुवाले हामीलाई रोकेको भए अहिले म यो स्थानमा आइपुग्ने थिइनँ।'