झापाको गौरादहमा सञ्चालन भएको मेयर कप भलिबलको उपाधि झापा गाउँपालिकाले उचालेको छ।
बिहीबार सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकाले विर्तामोड नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।
उपाधि हात पार्न प्रयासरत रहेका दुबै टिमले दुई-दुई सेटमा जित निकाले पनि अन्तिम सेटमा विर्तामोड नगरपालिकाले लय गुमाउँदा झापासँग पराजित भएको थियो।
सेमिफाइनल खेलमा गौरादह नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको विर्तामोड नगरपालिकाको प्रथम पुरस्कार हात पार्ने दाउ झापा गाउँपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै विफल बनाइदियो।
सेमिफाइनल खेलमा दमकसँग संघर्षपूर्ण जित निकालेकोे झापा गाउँपलिका निकै कठिन संघर्षका साथ मेयर कपको उपाधि उचाल्न सफल भएको छ।
जनता मा.वि. गौरादहको खेल मैदानमा सम्पन्न फाइनल खेलमा जितका लागि झापा गाउँपालिकाले विर्तामोड नगरपालिकालाई २२-२५, २५-२०, २५-२१,२२-२५ र १५-१२ को सेटमा पराजित गरेको थियो।
गौरादह नगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको अन्तरपालिका भलिबल प्रतियोगितामा प्रथम भएको झापा गाउँपालिकाले नगद १ लाख र दोस्रो हुने विर्तामोड नगरपालिकाले ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको खेलकुद विकास समितिका अध्यक्ष हेमन्त कार्कीले जानकारी गराए।
उत्कृष्ट सटरमा झापाका सागर भट्टराई, म्यान अफ द म्याचमा विर्तामोडका रोशन डाँगी, उत्कृष्ट स्ट्राइकरमा विर्तामोडका विमान खड्का, उत्कृष्ट बल्करमा झापाका चर्चित कटुवाल र म्यान अफ द सिरिजमा झापाका रोहित शिवाकोटी पुरस्कृत भए।