गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण जितेका कराते खेलाडी मन्देकाजी श्रेष्ठ नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा भएका छन्।
नेपाल पुलिस क्लबबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएका मन्देलाई बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६५औं वार्षिकोत्सवको अवसरमा मन्देलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरे।
मन्देले सागमा करातेको टिम काता र एकल कतामा गरी दुई स्वर्ण जितेका थिए।
यस्तै उनले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एकल काता) र रजत (टिम काता) हात पारेका थिए।
बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता) हात पारेका थिए।