विराटनगरको सहिद मैदानमा फ्लड लाइटको स्थायी व्यवस्थापन भएपछि अब रात्रिकालीन खेल गतिविधि सम्भव हुने भएको छ।
तीन वर्षअघि पहिलोपटक अस्थायी फ्लड लाइट जडान गरेर विराट गोल्डकप आयोजना भएको रंगशालामा त्यसको स्थायी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
मंगलबार राति यसको परीक्षणसमेत गरिएको छ। परीक्षणका क्रममा छाया देखापरेको र त्यसलाई मिलाउने काम चलिरहेको निर्माण पक्षले जनाएको छ।
मैदानको चार कुनामा जडान गरिएको १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्ब जडान गरिएको छ। सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभीलाई ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको थियो।
फ्लडलाइट सञ्चालनका लागि प्रतिघण्टा २७ लिटर डिजल खर्च हुने प्राविधिकले बताएका छन्। लाइट जडानको काम गरेको भारतको ट्रान्सरेल लाइट लिमिटेडका केएन सत्यालले लाइट जडान राम्रो भएको बताए।
गएको असोज १ गते प्रदेश १ को सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच सहिद रंगशालामा मास्ट जडानको सम्झौता भएको थियो।
२१० दिनभित्र काम सक्ने सम्झौता भए पनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकिएको कार्की बन्धु अमर जेभीका प्रबन्ध निर्देशक गणेश कार्कीले बताए।
अब एक साताभित्रमा काम सम्पन्न गरेर सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिने कार्कीले बताए।
अखिल नेपाल फुटबल संघ एन्फाका सहायक महासचिव बसन्त अर्यालले फ्लडलाइटको जडानका कारण रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए।
फ्लडलाइट व्यवस्थापन हेर्दै आएका सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिका चौलागाईंले सरकारले जहिल्यै खर्च व्यहोर्न नसक्ने भएकाले आवश्यक कार्यविधि र मापदण्ड बनाएर सञ्चालन गर्नुपर्ने बताए।
कार्यविधि बनाएर सञ्चालन गर्न सकिए आवश्यक मर्मतमा समस्या नहुने उनले बताए।