बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।
चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् । चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे । शनिबार भएको पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरी र महिला ४८ केजीमा रमिसाले नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण जितेका थिए।
महिला ५१ केजीमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई स्तब्ध बनाउँदै पहिलो स्थान हात पारिन् । ५७ केजीमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठ, ६० केजीमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरी र ६४ केजीमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण जिते ।
पुरुषको ४९ केजीमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए । ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाउँदा पुरुषकै ५६ केजीमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामा र ६० केजीमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण जिते ।
यसैगरी पुरुषको ६४ केजीमा ललितपुरका सनिल शाही पहिलो भए । उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे । पुरुषकै ७५ केजीमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपाली तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण जिते।
प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायतले पुरस्कार प्रदान गरे।