आरडीएस क्लबकी सुमिना खड्का र नक्साल बक्सिङ क्लबकी सुष्मा तामाङले आइवा युथ विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
सुमिनाले बुधबार सातदोबाटोस्थित बक्सिङ हलमा भएको ६० केजी तौल समूहमा पहिलो स्थान हात पार्दै युथ विश्व बक्सिङमा आफ्नो स्थान पक्का गरेकी हुन्।
सुमिनाले ६० केजीको फाइनलमा बक्समाण्डौंकी डेचेन शेर्पालाई अंकका आधारमा ४–१ ले हराएकी हुन्।
यसअघि डेचेनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० ले हराएर फाइनलमा स्थान बनाएकी थिइन्। सुमिना भने बाइ पाएर फाइनल पुगेकी थिइन्।
यसअघि ४८ केजी तौल समूहको प्रतिस्पर्धामा सुष्मा तामाङले पहिलो स्थान हात पारेकी थिइन्। उनले मंगलबार भएको फाइनलमा आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठीन जित हात पारेकी थिइन्।
आइवा युथ विश्व बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ सम्म हुनेछ।
प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले दुई महिला खेलाडीलाई पठाउने निर्णय गर्दै छनोट प्रतियोगिता आयोजना गरेको हो।