'द रियल सोल्जर्स' (डिआरएस) गेमिङले आफ्नो पब्जी टिममा पाँच खेलाडी आबद्ध गरेको छ।
गत वर्ष स्थापना भएको डिआरएसले आधिकारिक रुपमा कम्पनी दर्ता गर्दै आफ्नो टिममा पाँच पब्जी खेलाडी आबद्ध गरेको हो।
टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेमा ग्याल्जेन लामा (ग्याल्जेन) र अन्जन राई (एमआरबोरो) आबद्ध भएका छन्।
उनीहरुसँग एक वर्षको सम्झौता गरिएको छ। टिमको व्यवस्थापकमा सङ्गीन भट्टराई छन्। उनीहरुलाई मासिक तलबको व्यवस्था गरेको डिआरएस गेमिङका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेलले बताए।
पौडेलले इगेमिङको लोकप्रियता संसारभर बढ्दै गएको अवस्थामा नेपालमा पनि व्यवसायिक तरिकाबाट इगेमिङ खेल्नका लागि टिममा खेलाडी आबद्ध गरेको बताए।
बुटक्याम्प (बन्द प्रशिक्षण) दौरानको सम्पूर्ण खर्च डिआरएसले बेहोर्नेछ। बुटक्याम्पका लागि सबै खेलाडीलाई एउटै घरमा राखिनेछ।
टिमलाई आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता अघि विदेशी प्रशिक्षकबाट विशेष प्रशिक्षण गराइने पौडेको भनाइ छ।
२०२० मा पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा सहभागी भएको डिआरएस नेपालको मुख्य पब्जी टिम मध्येको एक हो।
डिएसआर अहिले दक्षिण एसियन चरणको खेलको तयारीमा छ। यसअघि राष्ट्रियस्तरमा विजेता बन्दै डिआरएसको टिम दक्षिण एसियन चरणमा दोस्रो भएको थियो। त्यसपछि दुबईमा भएको ग्लोबल च्याम्पियनसिपमा टिम २०औं भएको थियो। स्थापना भएको ८ महिनामा डिआरएस गेमिङले पुरस्कार स्वरुप ४१ लाख रुपैयाँ भन्दा बढि जितेको बताइएको छ।