नेपाल प्रहरीकाद्वय संयोग कपाली र नवीता श्रेष्ठ केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्। संयोग पुरुष तथा नवीता महिलामा पहिलो भएका हुन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले आफ्नै विभागका विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३ र ११–९ को सेटमा पराजित गरे।
नेपाल आर्मीका कृष्ण थापा मगर र आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट तेश्रो भए।
महिलाको उपाधि भिडन्तमा नवीताले एपीएफकी वियन्का राईलाई ८–११, ९–११, १३–११, ११–९, ११–८ र ११–९ को सेटमा हराइन्। नेपाल प्रहरीकी एलिना महर्जन र एपीएफकी सिक्का सुवाल श्रेष्ठले कांस्य हात पारे।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार नगद पुरस्कार प्राप्त गरे।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पाँचदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।