ओलम्पिक च्याम्पियन एलिउड किप्चोगेले बर्लिनमा आइतबार म्याराथनमा नयाँ विश्व कीर्तिमान बनाएका छन्।
३७ वर्षीय केन्याली धावक किप्चोगेले दुई घण्टा १ मिनेट ०९ सेकेन्डमा दौड पूरा गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन्।
उनले चार वर्षअघि बनाएको कीर्तिमानभन्दा ३० सेकेन्डअघि म्याराथन पूरा गरेर नयाँ विश्व कीर्तिमान बनाए।
उनले सन् २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा म्याराथन पूरा गर्दै कीर्तिमान बनाएका थिए।
आफ्नो करियरको १७ मध्ये १५ म्याराथन जितेका किप्चोगेले आइतबार बर्लिनमा भएको म्याराथनको पहिलो २१ किलोमिटर ५९ मिनेट ५१ सेकेन्डमा दौडिएका थिए।
उनले २०१९ मा भियनामा दुई घण्टाभन्दा कम समयमा म्याराथन दौडिएका थिए। यद्यपी यसलाई आधिकारिक विश्व रेकर्डको रूपमा मान्यता दिइएन। किनभने यो खुला प्रतिस्पर्धामा थिएन।
आइतबार भएको म्याराथनमा केन्याकै मार्क कोरीर दोस्रो भए। उनले किप्चोगेभन्दा चार मिनेट ४९ सेकेन्ड पछि दौड पूरा गरेका थिए। इथियोपियाका ताडु अबेट तेस्रो थिए।
महिलातर्फ इथियोपियाकी टाइगिस्ट एसेफाले २ घन्टा १५ मिनेट ३७ सेकेन्डमा म्याराथन पूरा गर्दै पहिलो भइन्।