पश्चिम नवलपरासीका बसन्त थापाले भैरहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि जितेका छन्।
रूपन्देहीका उद्योगी व्यवसायीहरूको संस्था सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरेको छ।
मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन भइरहेको महोत्सवमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो।
तीन दिनसम्म संचालन गरिएको प्रतियोगिताअन्तर्गत भारतको पंजावका कालिचिता पहलवानलाई फाइनल प्रतिस्पर्धामा पराजित गर्दै थापाले उपाधी हात पारेका हुन्।
त्यस्तै सेमिफाइनलमा प्रवेश गरेका वीरगंजका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि पंजावकै अशोक पहलवान तेस्रो भएका छन्।
पछिल्लो समय तराईमा लोकप्रिय बन्दै गइरहेको कुस्ती प्रतियोगितामा नेपालका ८ र भारतका पुरुष तथा महिला गरी १४ जना पहलवानहरूको सहभागिता थियो।
प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थापाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
त्यस्तै, दोस्रो भएका कालिचिताले १५ हजार र तेस्रो घोषित भएका अशोक पहलवानले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
विजेता खेलाडीहरूलाई पुरस्कार तथा ट्रफी प्रदान गर्दै महोत्सव आयोजक संस्था एव सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले लोप हुँदै गइरहेको कुस्ती खेलको जगेर्नाको लागि महोत्सवमा प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगिता अवधिभर कुस्ती हेर्न महोत्सवस्थलमा दर्शकहरूको घुइँचो लागेको न्यौपानेले बताए।