चीनको हाङ्झाउमा जारी १९औं एसियाली खेलको दोस्रो दिन नेपालका लागि सुखद नजिता आउन सकेन।
टेनिसको पुरूष एकलमा प्रदीप खड्काले इस्ट टिमोरका खेलाडीलाई हराएर अन्तिम ३२ मा पुग्नु बाहेक अरू नेपाली खेलाडीको यात्रा समाप्त भएको छ।
यद्यपि नेपालले उसुका दुई इभेन्टमा अहिले राति क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्न बाँकी छ। यी दुई खेलमा जित निकाले नेपालको पदकको सम्भावना हुनेछ।
एसियाका अरू टिमको तुलनामा नेपाली खेलाडीले खराब हारको सामना गर्न परेको छ। प्रतिस्पर्धा गरेका इभेन्टमा फराकिलो अन्तरको हार बेहोर्दा नेपालको स्तर अझै माथि उठ्न नसकेको देखिएको छ। खेलकुदमा एसियाका बलिया राष्ट्रसँगको भिडन्तमा त नेपाली टिम अन्त्यन्तै कमजोर देखिएका छन्।
आइतबार बिहानै नेपालले सुटिङबाट खराब प्रदर्शनको सुरूवात गरेको थियो। सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिसा भण्डारी ४७औं र सुस्मिता नेपाल ५८औं स्थानमा रहे। यो इभेन्टमा ५९ खेलाडी सहभागी थिए।
इस्पोर्ट्अन्तर्गत इफुटबलमा नेपालका समीर गुरूङ मकाउका खेलाडीसँग २-१ ले पराजित भए। यस्तै बाइ पाएर सिधै क्वार्टरफाइनल पुगेको नेपालको एरिना अफ भालोर टिम पनि बाहिरियो। थाइल्यान्डसँग पराजित भएपछि नेपालको सेमिफाइनल पुगेर पदक जित्ने सम्भावना सकियो।
उसुको छानक्वान फाइनलमा नेपालका विजय सिन्जाली सफल हुन सकेनन्। उनी सातौं भए। यस्तै ताइजिक्वानमा नेपालकी सविता राई १४ खेलाडी मध्ये अन्तिम स्थानमा रहिन्।
यस्तै एलिना चौधरी ५२ केजी तौल समूहको इरानका खेलाडीसँग पराजित भइन्। रोहित चुनारो क्वार्टरफाइनलमा किर्गिस्तानका खेलाडीसँग २-० ले पराजित भए।
तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ अन्तिम १६ को खेलमा सिंगापुरकी खेलाडीसँग पछि पारिन्। पुरुषतर्फ प्रेमबहादुर लिम्बू भने फिलिपिन्सका खेलाडीसँग अन्तिम आठमा पराजित भए। फिलिपिन्सका खेलाडीसँग जित हात पारेको भए नेपालको पदकको सम्भावना हुने थियो। त्यसअघि उनले अन्तिम १६ मा पाकिस्तानका खेलाडीलाई पराजित गरेका थिए।
जुडोको अन्तिम १६ मा विकास विक तुर्कमिनिस्तानका खेलाडीसँग १०-० ले पराजित भए। त्यसअघि उनले अन्तिम ३२ को खेलमा कम्बोडियाका खेलाडीलाई १०-० ले नै हराएका थिए। यस्तै देवकी श्रेष्ठ अन्तिम १६ मा मंगोलियाको खेलाडीसँग र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग अन्तिम ३२ को खेलमा १०-० अंकले पराजित भए।
पौडीको सय मिटर फ्रिस्टायलको हिट राउन्डमा एलेक्स शाहले आठ मध्ये अन्तिम स्थानमा रहे। उनले ५४.१४ सेकेन्डमा पौडिए।
रग्बी सेभेनले नेपालले लज्जास्पद हार बेहोर्यो। नेपाल युएईसँग ५५-७ र चीनसँग ६५-० ले पराजित भयो।
यस्तै अफगानिस्तानसँग पनि नेपाल ४१-० ले पराजित भयो। बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन्। संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्। आइतबार दिउँसो हाङ्झाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन्।
महिला ५४ केजी तौल समूहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडी ५-० अंकले पराजित भइन्।
त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए। राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरेका हुन्।
टेनिसमा नेपालका प्रदीप खड्काले पुरूष सिंगल्समा विजयी सुरूआत गरे। हाङ्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले इस्ट टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे। जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन्। अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।
आइतबार नै नेपाली खेलाडीले महिला सिंगल्स तथा पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्दा पराजित भए। महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए।
दोस्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसंग सोझो सेटमा ६–० र ६–० को ले पछि परिन्। माहिका दक्षिण कोरियाली खेलाडीसँग ०–६ र १–६ ले चुकिन्। पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले चुके। सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन्। त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन्।