एसियाली खेलकुदमा शनिबार रजत जितेपछि कराते खेलाडी एरिका गुरूङले सबभन्दा पहिला आमालाई फोन गरिन्।
नेपालमा रहेकी आमासँग खुसी साट्दै गर्दा उनी निकै भावुक देखिएकी थिइन्।
'के भन्नुभो त आमाले?' यो प्रश्न सोध्दा सुरूमा त एरिकाले जवाफै दिन सकिनन्।
अवरूद्ध गला सफा गर्दै उनले भनिन्, 'आई एम प्राउड अफ यू छोरी भन्नुभो।'
पहिलोपटक एसियाली खेलकुदमा भाग लिएकी एरिका पदक वितरण समारोहमा पनि भावुक भएकी थिइन्।
जसै रजत पदक उनको गलामा पर्यो, उनले बिस्तारै आफ्नो हातमा लिइन्। सुमसुम्याइन्। र, पदकमा लेखिएको अक्षर पढिन्।
रजत जित्दाको अनुभवबारे कुराकानी गर्दा एरिकाले आँखाभरि आँसु पार्दै भनिन्, 'मेडल समारोहमा देशको झन्डा माथि उठ्दै गरेको देखेर म निकै भावुक भएँ।'
'हामीले मिहिनेत गर्यौं भने गोल्ड (स्वर्ण) पनि जित्न सकिने रहेछ,' उनले अगाडि भनिन्, 'नेपालको झन्डा रजतको स्थानमा नभई स्वर्णको स्थानमा भइदिएको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्यो।'
'अब अर्को प्रतिस्पर्धाको तयारीमा लाग्छु। मैले अझै धेरै गर्नुछ,' उनले भनिन्।
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा १९ वर्षीया एरिकाले रजत जित्नु नेपालका लागि ऐतिहासिक सफलता हो। लिनपिङ स्पोर्ट्स सेन्टरमा ६८ केजी तौल समूहतर्फ उनी काजकिस्तानकी सोफ्या बेरूलसेभाबाट पराजित भएकी थिइन्।
व्यक्तिगत स्पर्धातर्फ पछिल्लो २५ वर्षमा नेपालले जितेको यो दोस्रो पदक हो। यसअघि सन् १९९८ को बैंकक एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोबाट रजत जितेकी थिइन्।
सामूहिक प्रतिस्पर्धामा भने नेपालले अघिल्लो एसियाली खेलकुदमा प्याराग्लाइडिङबाट रजत जितेको थियो।
एरिकाले जितेको रजत नेपालका लागि एसियाली खेलकुदमा तेस्रो हो। करातेबाट उनी पहिलो रजत जित्ने खेलाडी बनिन्। यसअघि करातेबाट नेपालले तीन कास्य जितेको थियो।
एरिकाले कराते खेल्न थालेको १० वर्ष भयो। उनले मनमैजु डोजोबाट कराते सिकेकी हुन्। एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न हाङझाउ आउनुअघि उनले इन्डोनेसियामा भएको एसियन सितेरियो कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन्। त्यहाँ उनले स्वर्ण जितेकी थिइन्।
प्रतिस्पर्धाका अतिरिक्त नेपाली कराते टिमले इन्डोनेसियामा अन्तिम प्रशिक्षणसमेत लिएको थियो।
'त्यहाँको गर्मीमा प्रशिक्षण गर्दा राम्रो तयारी भयो भन्ने लाग्छ,' एरिकाले भनिन्, 'प्रतियोगितामा भाग लिनु प्लस प्वाइन्ट भयो।'
नेपाल पुलिस क्लबमा आबद्ध एरिका नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेसँगै एसियाली खेलकुदको प्रारम्भिक छनोटमा परेकी थिइन्।
एसियाली खेलकुदको दोस्रो सत्रको सुरूमा उनको प्रतिस्पर्धा जापानी खेलाडीसँग भएको थियो।
नेपालका लागि जापानी कराते खेलाडी भनेका आइडलजस्तै हुन्छन्। उनीहरूकै अभ्यास हेरेर नेपाली खेलाडीले सिक्ने गर्छन्। एरिकाले पनि त्यस्तै गरेकी थिइन्।
जसलाई आफूले आइडल मानेको थियो र जसको खेल हेरेर सिक्ने गरेको थियो, उनै जापानी खेलाडीसँग् भिड्नुपर्दा सुरूमा नर्भस भएको एरिका बताउँछिन्।
तर उनले आफूलाई सम्हालिन्।
क्वार्टरफाइनलको उक्त प्रतिस्पर्धामा उनी फुर्तिका साथ कोर्टमा ओर्लिएकी थिइन्। जापानी खेलाडी युजुकीका अगाडि उनको अनुभव कम थियो, तर उनी सुरूदेखि नै विपक्षीमाथि हाबी भइन् र पहिलो अंक लिन सफल भइन्।
त्यसपछि युजिकाले दोस्रो अंक लिएपछि तीन मिनेटको खेल एक-एकको बराबरीमा सकियो।
पहिलो अंक लिएका आधारमा एरिका अन्तिम चारमा पुग्न सफल भइन्।
'हामी डराउँछौं भने उनीहरू पनि त डराइहाल्छन् नि भन्ने लाग्यो,' रजत विजेता एरिकाले एसियाली खेलकुदमा पहिलो खेलको अनुभव सुनाउँदै भनिन्, 'मैले जापानी खेलाडीको भिडिओ हेरेर तयारी गरेको थिएँ। गोर्खाली हिम्मतका साथ खेलेर जित निकालेँ।'
पहिलो खेलमै जापानी खेलाडीलाई हराएपछि एरिकाको मनोबल बढ्यो।
अन्तिम चारमा एरिकाको भिडन्त हङकङकी हो काइ हानसँग भयो। उनले हानमाथि सुरूदेखि दबाब बनाइन् र ८-४ अंकले जित्दै फाइनलमा पुगिन्।
फाइनलमा एरिकाको भेट काजकिस्तानकी सोफ्यासँग भयो। सोफ्या टोकियो ओलम्पिककी कास्य विजेता तथा विश्व वरियताको शीर्ष स्थानमा रहेकी खेलाडी हुन्।
सोफ्यासँगको भिडन्तमा पनि एरिकाले निडर प्रदर्शन गरिन् र अन्तिमसम्म लडिरहिन्। जित हात पार्न भने सकिनन्।
फाइनलमा सोफ्यासँग ३-० ले पराजित भएपछि एरिकाले रजत पदकमै चित्त बुझाउनुपर्यो।
एरिकाले आफ्नो पदक कराते महासंघ, प्रशिक्षक र परिवारलाई समर्पित गर्ने बताएकी छन्। प्रशिक्षक कुशल श्रेष्ठले पनि एरिकाको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
'मैले उनलाई तिमी जुन फाइट खेल्छौ, त्यही तिम्रो फाइनल हो र हरेक खेललाई फाइनलकै रूपमा लिनू भनेको थिएँ,' प्रशिक्षक श्रेष्ठले भने।
पहिलो खेलमा जापानीसँग भिड्नुपर्दा आफूलाई पनि अलिकति डर लागेको उनी बताउँछन्।
'उनले भर्खर प्रिमियर लिगमा गोल्ड मेडल जितेकी थिइन्,' उनले भने, 'मैले विपक्षी देखाएर तर्साउने काम गरिनँ। खेलमै केन्द्रित गराएँ। प्रशिक्षणमा जसरी खेल्थ्यो, प्रतिस्पर्धामा पनि त्यसरी नै खेल भन्दै उत्साहित बनाएँ।'
एसियाली खेलकुदका लागि खेलाडीहरूलाई दिन-रात अभ्यासमा राखेको उनको भनाइ छ।
'हामीले सधैं अभ्यासलाई प्राथमिकतामा राख्यौं। कतै गयौं भने पनि त्यहीँ बेलुकी अभ्यास गरिहाल्थ्यौं,' प्रशिक्षक श्रेष्ठले भने, 'कुनै प्रतियोगिता सकिएपछि पनि खाली बस्दैन थियौं। भोलिपल्टदेखि तयारी थालिहाल्थ्यौं।'
नेपाली खेलाडीले जापानजस्तो बलियो टोलीलाई हराएर उदाहरण प्रस्तुत गरेको र यसले आफूलाई उत्साहित बनाएको उनी बताउँछन्।
'खेलाडीहरूलाई बाह्रै महिना अभ्यास गराउने र एक्सपोजरका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने वातावरण बनाए नेपालले पनि मेडल जित्न सक्छ,' श्रेष्ठले भने, 'यसलाई प्रवर्द्धन गर्न निजी क्षेत्रले लगानी गर्नुपर्छ भन्ने मलाई लाग्छ।'