उनी औसत भन्दा अग्ली थिइन्। पातली पनि थिइन्।अग्ली भएकोमा साथीहरूले मजाक गर्थे। उनीहरूले सुरिलो बाँससँग तुलना गर्दा उनलाई कहिले रमाइलो लाग्थ्यो त कहिले दिक्क पनि लाग्थ्यो।
धनगढीकी सरस्वती चौधरीका लागि आफ्नो त्यो उचाइ नै उज्यालो भविष्य भएर आइदियो। उनी महिला भलिबलमा राष्ट्रिय खेलाडी भइन्। सशस्त्र प्रहरी बलको एपिएफ टिममा आबद्ध भएर खेल्न थालेको १० वर्ष नाघ्यो।
सुदूरपश्चिमको धनगढीमा २०५२ सालमा जन्मेकी सरस्वती भलिबल खेलाडी महिलामा अब्बल नाम हो। उनी महिला राष्ट्रिय भलिबल टोलीकी ‘स्पाइकर’ हुन्। नेपालबाट वैदेशिक प्रशिक्षणमा जाने पहिलो भलिबल खेलाडी महिला पनि उनै हुन्।
सरस्वतीको परिवारमा कोही पनि खेलाडी थिएनन्। आमा बेल्सीदेबी खेतीकिसानी सँगै स्वास्थ्य स्वयंसेविका हुन्। बुबा शुक्रराज धनगढीको एक होटलमा लेखापाल छन्।
उनलाई पनि बाल्यकालमा खेलमा खासै रूची थिएन। उनका अनुसार उनी स्कुल पढ्दा छात्राहरू खेलमा लाग्न रुचाउँदैन थिए। प्रशिक्षकहरू महिला भविबल टिम बनाउने प्रयास गर्थे तर खेलाडी पुर्याउनै समस्या हुन्थ्यो। छात्राहरू खेलमा लाग्न घरबाट सहयोग पाउँदै थिए।
भलिबल प्रशिक्षक विष्णु चौधरीले सरस्वतीले भलिबलमा खेल्न सक्ने सम्भावना देखे। उनलाई भलिबल खेल सिकाउन सुरु गरे। उनले छिटो सिकिन्, विष्णुले निकै राम्रो सम्भावना देखे।
भलिबल सिक्न थालेको दुई वर्ष नहुँदै २०६४ सालमा काठमाडौँमा ‘राष्ट्रिय गणतान्त्रिक भलिबल प्रतियोगिता’ आयोजना भयो। सरस्वती १४ वर्षकै उमेरमा सुदूरपश्चिमबाट छनोट भइन्।
सरस्वतीका लागि उक्त प्रतियोगिता खेलाडीका रूपमा आफ्नो परिचय बनाउने र खेल सिक्ने राम्रो अवसर भयो। उनले भनिन्, ‘पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा खेलका धेरै कुरा सिक्न पाएँ। मेरो प्रदर्शन सामान्य रहे पनि सिकाइ राम्रो भयो।’
सरस्वतीले राष्ट्रिय प्रतियोगिता खेलेपछि उनका प्रशिक्षक विष्णु झनै उत्साहित भए। विष्णुको पहलमा पश्चिमाञ्चल टिमका प्रशिक्षकले पोखराको ‘फिस्टेल एकेडेमी’ भलिबल खेल अभ्यास गर्ने र पोखरामै पढ्ने व्यवस्था मिलाइदिए।
खेल सिक्ने अवसर त आयो तर सरस्वतीका आमाबुबाले पोखरा नपठाउने सम्भावना देखियो। अन्ततः प्रशिक्षको आग्रह र सरस्वतीको इच्छासमेत विचार गरेर आमाबुबा पोखरा पठाउन सहमत भए।
उनले भनिन्, ‘छोरीको भविष्य बन्छ भने ठिकै छ भनेर आमाबाले पोखरा पठाउनुभयो। पाँच वर्षसम्म पढ्दै भलिबल सिक्ने अवसर प्राप्त भयो।’
उनले १२ वर्षको उमेरमा भलिबल खेल्न सुरु गरेकी थिइन्। फुर्सदको हरेक समयमा भलिबल अभ्यासमा लाग्थिन्। प्रशिक्षक विष्णुको जोडबलमा खेल्न थालेकी थिइन्। सुरुमा उति रुचि भएन तर खेल्दै र खेलाडी साथीसँग घुलमिल हुँदै गएपछि उनको आत्मविश्वास बढ्दै गयो। । स्थानीय र क्षेत्रीय प्रतियोगितामा सहभागी हुन थालिन्।
२०६८ सालमा ‘छैठौं राष्ट्रिय खेलकुद’ धनगढीमा भएको थियो। सरस्वतीले त्यसमा खेलिन्। उनको खेल हेर्न परिवारका सदस्यहरू र छरछिमेकी पनि आएका थिए। त्यो सहभागिताले उनलाई निकै उत्साही बनायो। निकै खुसी भइन्।
उनले भनिन्, ‘राष्ट्रियस्तरको खेल आफ्नै ठाउँमा परिवारका सामु खेल्न पाउँदा म धेरै खुसी थिएँ।’
उनी खेलमा अघि बढ्दै गइन्। सशस्त्र प्रहरी बलको विभागीय ‘एपिएफ टिम’ ले उनलाई पत्यायो। उनी २०७० सालदेखि एपीएफ टिममा आबद्ध छिन्।
सरस्वतीका अनुसार उनी समेतले खेलेको एपिएफ टिमले हालम्ममा ५० वटा स्वर्ण पदक, २१ वटा काश्य पदक र १० वटा रजत पदक हासिल गरेको छ ।
उनले सन् २०१४ मा आयोजित ‘प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल’ मा पहिलो पटक राष्ट्रिय टोलीबाट खेलिन्। उक्त खेलमा नेपालले श्रीलंकालाई हराएर रजत पदक जितेको थियो।
त्यसपछि उनी सहभागी रहेको टिम नेपालले पहिलो ‘साफ गेम, २०१६’ मा काश्य पदक जित्यो । लगत्तै अर्को वर्ष ‘सेन्ट्रल जोन गेम, २०१७’ मा उनको टिमले रजत पदक हासिल गर्यो।
उनले माल्दिभ्समा वल्र्ड क्वालिफायर म्याच, भारतको केरलामा बिच भलिबल, सेन्ट्रल जोन गेम, तेह्रौं दक्षिण एसीयाली गेम, बंगलादेशमा ‘सेकन्ड एसियन सेन्ट्रल गेम’ जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन्।
सरस्वती २०७० मा नेपाल खेलकुद पत्रकार मन्चले ‘लोकप्रिय खेलाडी’ लाई दिने ‘पल्सर स्पोर्टस् अवार्ड’ बाट सम्मानित भइन्। सोही वर्ष नेपाल भलिबल संघले वर्षको ‘उत्कृष्ट खेलाडी’ उपाधिका साथ उनलाई पुरस्कृत गरेको थियो।
उनले ‘सशस्त्र प्रहरी आइजिपी कप भलिबल’ मा ‘उत्कृष्ट खेलाडी’ ठहरिएर पुरस्कारमा स्कुटर प्राप्त गरिन्।
२०६९ सालमा ‘ढोरपाटन डबल लिग भलिबल’ मा ‘राइजिङ खेलाडी’ उपाधिका साथ स्कुटर पाएकी थिइन्।
खेल र पढाइ एकसाथ अघि बढाउनु सरस्वतीका लागि सजिलो थिएन। उनले भनिन्, ‘खेलसँगै पढाइ अघि बढाउन निकै चुनौती थियो। खेलमा लाग्दा पढाइ छुट्ने र पढाइमा लाग्दा खेल छुट्ने हुन्थ्यो। बढी नै दबाब महसुस हुन्थ्यो।’
सरस्वती दुबैतिर सन्तुलन मिलाउँदै मिहिनेतका साथ अघि बढिन्। पढाइमा स्नातक तह पूरा गरिन्। भलिबल खेलमा सक्रिय रहेको १७ वर्ष भयो। उनी देशको अब्बल खेलाडीका रूपमा परिचित भएकी छन्।
भलिबल खेल्ने क्रममै चार वर्षअघि उनको खुट्टामा चोट लाग्यो। चिकित्सकले तीन साता पूर्ण आराम गर्न सुझाब दिए। त्यसो त भलिबल खेल्दा सानोतिनो चोट लागिहरन्छ तर चाँडै ठिक हुन्छ र खेल्न थालिहाल्छिन्।
लामो समय आराम गर्नु परेको चाहिँ चार वर्षअघि एकपटक मात्र हो।
गत वर्ष उनले थुप्रै घरेलु प्रतियोगिताका अतिरिक्त अन्तर्राष्ट्रियस्तरको ‘कावा प्रतियोगिता’ खेलिन्। भन्छिन्, ‘सबै प्रतियोगितामा खेलिरहेकी छु, कुनै पनि छुटाएकी छैन।’
हाल उनी ‘कावा प्रतियोगिता’ को राष्ट्रिय टोलीमा छिन्। ‘कावा प्रतियोगिता’ का लागि यति बेला हरेक दिन बिहान र बेलका तालिम हुँदै छ।
‘राष्ट्रिय टिममा परेका खेलाडी अब हुने कावा गेमका लागि अभ्यासमा छौं,’ उनी भन्छिन्, ‘अहिले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय गेम खेल्न पाएकी छु।’
खेलको सफलताले सरस्वती सन्तुष्ट छिन् तर आर्थिक सुविधामा सन्तोष गर्ने ठाउँ छैन। उनका अनुसार राष्ट्रिय टिममा परेका खेलाडीको तलब र खास सुविधा छैन।
उनी भन्छिन्, ‘कहिलेकाहीँ अरू क्षेत्रका साथीहरू राष्ट्रिय टिमका भलिबल खेलाडीको तलब कति हुन्छ, के के सुविधा हुन्छ भनेर सोध्छन् तर जबाफ दिन गाह्रो हुन्छ।’
सरस्वती भविष्यमा भलिबल खेल प्रशिक्षक हुन चाहन्छिन्। प्रशिक्षक हुने योग्यता हासिल गर्ने काममा पनि लागेकी छन्। भन्छिन्, ‘जहिलेसम्म हुन्छ, खेलिराख्ने हो। त्यसपछि नयाँ खेलाडीलाई प्रशिक्षण दिने र भलिबल खेलमै सकेको योदान गर्ने इच्छा छ।’