नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन्।
संयोग के रह्यो भने दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे।
बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ४–१ ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो डिलाई ५–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेकी गरेकी थिइन् ।
समग्रमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । स्वस्तिकाले सन् २०२१ मा दुबइमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेकी थिइन् । ठमेलस्थित एभरेष्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी सुदूरपश्चिमको कञ्चन्पुर निवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् ।
सन् २०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले २ वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् ।
जितपछि स्वस्तिकाले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकोमा खुशी व्यक्त गर्दै यो अवसर प्रदान गर्ने नेपाल बक्सिङ संघ र प्रशिक्षक दीपक महर्जनलाई धन्यवाद दिइन् ।
पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३–२ ले हराए । सेमिफाइनलमा उनले बहराइनका अनास अल जलाकीलाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरेका थिए । नोर्बुको भने यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । उनको दोश्रो अन्तर्राष्ट्रिय सहभागिता हो । कक्षा १२ मा लोयल्टी एकेडेमीमा अध्ययनरत नोर्बुले करिब १ वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।
पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका ४ खेलाडीले पदक जिते । नेपालले समान २–२ स्वर्ण र कांस्य जित्यो । पुरुष ४६ केजीमुनि रोहित जनाला तथा पुरुष ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे । युनिक राई मात्र पदकविहीन बने । उनले पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए ।
इभाना र वियंका दोश्रो चरणमा
आईएसएफ जिम्नासाइड समर गेम्सअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालका इभाना थापा र वियंका राई समूह चरण पार गर्दै मंगलबार दोश्रो चरणमा प्रवेश गरेका छन् ।
बहराइन नेसनल स्टेडियमको इसा स्पोर्ट्स सिटीमा भएको ग्रुप ‘४’ को खेलमा इभानासहित ४ खेलाडी थिए । इभानाले २ खेलमा जित र १ मा हार व्यहोरिन् । चीनसंग ३–१ ले पराजित भएकी इभानाले इङल्यान्ड र साउदी अरबियाका खेलाडीलाई समान ३–० को नतिजामा हराइन् । दोश्रो चरणमा इभानाले ब्राजिलकी खेलाडीसंग खेल्ने छिन् ।
वियंका रहेको ग्रुप ‘वान’ पनि उनीसहित ४ खेलाडी थिए । चाइनिज ताइपेईंकी खेलाडीले वियंकालाई ३–० ले पन्छाइन् । वियंकाले अजरवैजान र युगान्डाका खेलाडीमाथि जित रचिन् । दुवै खेलको नतिजा समान ३–० ले वियंकाको पक्षमा रह्यो । दोश्रो चरणमा वियंकाले अजरवैजानकी खेलाडीको सामना गर्ने छिन् ।
नेपालका बाँकी ४ खेलाडीको भने चुनौती समाप्त भइसकेको छ । सिंगल्सको महिलामा माल्सा नेपाल र विद्विसा मैनाली तथा पुरुषमा जेविश बुर्लाकोटी र आशिष महता समूह चरणबाटै बाहिरिए ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसी पनि प्रतियोयगताबाट बारिएका छन् । दोश्रो चरणमा ब्राजिलका सौजाले कविरलाई २–० को सोझो सेटमा पाखा लगाए । पहिलो चरणमा कविरले भारतका कायाउ तेत्लाई २१–१ र २१–४ को सोझो सेटमा सहजै पन्छाएका थिए ।
तेक्वान्दोमा नेपालका राजन तामाङ पनि पहिलो चरणमै पराजित भए । पुरुष ५५ केजीमुनि साउदी अरबियाका मोहम्मद अल्खातानीले राजनलाई हराए ।
बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा पनि नेपाल समूह चरणमै रोकिएको छ । नेपालबाट १५ खेलाडीको चार टिम बास्केटबलमा सहभागी भएको थियो । आईएसएफ जिम्नासाइड बुधबार सम्पन्न हुनेछ ।